डडेल्धुरामा नगरभित्रै थन्कियो फोहोर

डडेल्धुरामा नगरभित्रै थन्कियो फोहोर

डडेल्धुरा  । जिल्ला सदरमुकामको अमरगढीका बजारबाट सङ्कलन गरिएको फोहोर गाडीमा नगरपालिकाभित्रै थन्किन थालेको छ। अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेपछि फेरि नगरपालिका परिसरभित्र फोहोर थन्किन थालेको हो। यसअघि अमरगढी नगरपालिका–५, जिल्ला सदरमुकामको बाघखोर बजारछेउ ऋषिखोला सामुदायिक वनमा खाल्टो बनाई नगरपालिकाले फोहोर जलाउँदै आएको थियो। 

अस्थायी रूपमा वनभित्र फोहोर फाल्दा अमरगढीले बनाएको खाल्टो भरिएको छ। खाल्टो भरिँदासम्म डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा फोहोर उठाउने दुईवटा टिप्पर र एउटा ट्याक्टरमा फोहोर भरेर नगरपालिका कार्यालयअगाडि रोकेर राखिएको नगरप्रमुख डिल्लीराज जोशीले बताउनुभयो। 

“फोहोर कसैले पनि हाम्रोतिर नल्याउनु भन्छन्,” उहाँले भन्नुभयो, “मैले कहाँ व्यवस्थापन गर्ने रु डम्पिङ साइटका लागि ११ वटा वडाको थुप्रै स्थान हेरे पनि वडाध्यक्ष एवं स्थानीयवासीले पहिले नै विरोध गर्ने गरेका छन्।” गत वैशाखमा भएको निर्वाचनपछि नयाँ निर्वाचित नगरप्रमुख र वडाध्यक्षसहितका जनप्रतिनिधिले बजारमा थन्किएको फोहोर अस्थायी रूपमा वनमा खाल्टो बनाई आगो लगाउन थालेको थियो। 

बजारछेउमै र वनभित्र फोहोर फाल्दा, जलाउँदा महामारी फैलिने भन्दै स्थानीय एवं अगुवाहरूले नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै फोहोरको सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभएको थियो। यसअघि पनि अस्थायी डम्पिङ साइटमा स्थानीयवासीले विरोध जनाएपछि नगरपालिकाले कार्यालयअगाडिको खाली भाग र सडक किनारमा खाल्डो बनाई फोहोर पुरेको थियो। 

डडेल्धुरा जिल्ला सदरमुकामको बाघखोर बजार, स्याउले बजार, तुफानडाँडा बजार, कीर्तिपुर र पोखरा बजारबाट दैनिक रूपमा तीन गाडी फोहोर सङ्कलन हुने गरेको छ। 

यसअघि अमरगढी नगरपालिका–७, कुयली क्षेत्रमा बनाइएका दुईवटा डम्पिङ साइटमा स्थानीयवासीले विरोध जनाएपछि फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन। डम्पिङ साइटमा नगरपालिकाले स्थानीयवासीसँग गरेको सम्झौताअनुसार भौतिक पूर्वाधारका संरचना नबनाएपछि स्थानीयवासीले विरोध गरेको स्थानीय सीता भाटले बताउनुभयो। 

यसअघि उहाँको जमिनमा पर्खाल लगाउने र घेरबार गर्ने सम्झौता गरेर नगरपालिकाले फोहोर फाल्ने गरेको थियो। करिब दुई वर्षसम्म लगातार सो क्षेत्रमा फोहोर फालेर नगरपालिकाले पर्खाल वा घेरबार पनि लगाएन। उग्रतारा–मेलौली सडक किनारमा छरपस्ट फालिएको फोहोरले दुर्गन्ध फैलाउनुका साथै विभिन्न रोगको 

सङ्क्रमण बढेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि सो ठाउँमा फोहोर फाल्न रोकेको उहाँले बताउनुभयो। नगरपालिकाले पर्खाल लगाई घेरबार गरेर फोहोरको व्यवस्थापन गर्ने सके त्यही ठाउँमा फोहोर फाल्न मिल्ने उहाँको भनाइ छ। 

अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जमिन खरिद गर्न लागेको जनाएको छ। नगरपालिकाले आफैँ जमिन गरिद गरेर करिब ८० करोड रुपियाँ लागतमा बहुउपयोगी फोहोर व्यवस्थापनको योजना बनाएको कार्यालयका प्राविधिक जनक रोस्याराले जानकारी दिनुभयो।