बैतडीको पाटन नगरपालिकाले ३ जना कर्मचारीलाई बर्खास्त गर्यो

बैतडीको पाटन नगरपालिकाले ३ जना कर्मचारीलाई बर्खास्त गर्यो

बैतडी । बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

शनिवार बसेको नगर कार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।

प्राविधिक कर्मचारीहरूले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरूलाई बर्खास्त गरिएको उपप्रमुख बोहराले बताए । पाटन नगरपालिकाको निर्माणाधीन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारबाही गरेको हो ।

प्राविधिक कर्मचारीहरूले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ । केही दिन पहिलादेखि विभिन्न संरचनाहरूको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरू गुणस्तरहीन पाइएका थिए ।नगरपालिकामा कार्यरत प्राविधिकहरू करारमा राखिएका थिए ।