फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि उचालेको हो । 

रोमाञ्चक खेलमा अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरे । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । 

मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा ३-३ को बराबरी गरे ।

पेनाल्टीमा फ्रान्सका एमबाप्पेले पहिलो गोल गर्दा मेस्सीले बराबरी गोल फर्काए । फ्रान्सक किंग्सले कोमानको प्रहार  गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।