बैतडीमा शिक्षक मृत्यु प्रकरण : शिक्षकका पेशागत संघसंगठन पनि आन्दोलित

बैतडीमा शिक्षक मृत्यु प्रकरण :  शिक्षकका पेशागत संघसंगठन पनि आन्दोलित

बैतडी / बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको न्यायको लागि शिक्षकका पेशागत संघसंगठन पनि आन्दोलित भएका छन् । सोमबार पेशागत संघसंगठनहरुले एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कार्यस्थलमा शिक्षक मृत अवस्थामा भेटिएपनि घटनाको अनुसन्धान तदारुकता नदेखिएको उल्लेख गरेको छ । 

कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टको मृत्यु भएको तीन दिन बितिसक्दा समेत स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार र सरोकारवाला निकाय घटनाबारे मुकदर्शक भएको विज्ञप्तिमा भनिएको छ । 

घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा शिक्षकका पेशागत संघसंगठनहरुले आग्रह गरेका छन् । दोषीलाई कारवाही गर्न ढिलाई भएमा आन्दोलनका सशक्त कार्यक्रम अघि ल्याउने समेत विज्ञप्ती मार्फत चेतावनी दिएको छ । घटनाको विरोध र निष्पक्ष छानबीनका लागि दबाब दिने उद्देश्य सहित भोलि (मंगलबार) नगरपालिकाभरीका सबै विद्यालय बन्द रहने नेपाल शिक्षक संघ पाटन नगरकार्य समितिका अध्यक्ष लक्ष्मण बोहराले बताए । 

गएको शनिबार कृष्ण मावि पाटनको छात्रबास पछाडि शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका थिए । मृतक बिष्टको अनुहार, शरीरमा चोट लागेको देखिएकाले हत्या भएको परिवारजनले आशंका गरेका छन् । घटनाको सत्यतथ्य छानबीन गर्न समेत उनीहरुले माग गरेका छन् । 

Techer1671439098.jpg