भारतविरुद्ध विप्लवको विरोध प्रदर्शन

भारतविरुद्ध विप्लवको विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (विप्लव ) ले भारतीय सीमा अतिक्रमण र हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ । सोमवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा भारतविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको हो ।

भारतले महाकाली नदीमा नेपालतर्फ क्षति हुने गरी बाँध बाँधिरहेको र नेपालसँग हुने गरेका सहमति कार्यान्वयन गर्न आनाकानी गर्दा आफूहरू विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका इन्चार्ज भरत मल्लले जानकारी दिनुभयो । विप्लवले तटबन्धको विषयमा मङ्सिर २१ को सहमति पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताएको छ ।

मङ्सिर २१ गते नेपाल र भारतका अधिकारीबिच नदीलाई प्राकृतिक रूपमै बग्न दिने र अस्थायी रूपमा निर्माण गरिएको तार जालीसहितको तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो । उक्त सहमति भएको १० दिन बिती सक्दासमेत भारतले अस्थायी तटबन्ध हटाएको छैन । 

यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग भएको तीन बुद्धे सहमति कार्यान्वयन नगरेको भन्दै अविलम्ब कार्यान्वयनका लागि माग गरेको छ । यदि सहमति कार्यान्वयन नभए थप सङ्घर्षका कार्यक्रम गर्ने जनाएको छ ।

विप्लव कार्यकर्ताहरूले भारतीय साम्राज्यवाद मुर्दावाद, वैदेशिक हस्तक्षेप बन्द गर, नेपाली माथिको हत्या हिंसा बन्द गर, भारतीय पक्षले ७ जना नेपाली माथि लगाइएको मुद्दा फिर्ता गर भन्नेजस्ता विरोधी नारा लगाएका थिए ।