संस्कृति संरक्षणमा प्रतिष्ठान सफल हुने

संस्कृति संरक्षणमा प्रतिष्ठान सफल हुने

धनगढी, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशको भाषा, कला र संस्कृति संरक्षण गर्न सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानले चाँडै पूर्णता प्राप्त गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “आग्रह, पूर्वाग्रह र अनावश्यक राजनीतिबाट प्रतिष्ठान मुक्त हुनुपर्छ भन्नेमा हामीले निक्कै छलफल गरेका छौँ, त्यसअनुसार काम गरेमा लक्ष्य प्राप्ति हुन्छ।”

उहाँले सङ्घीयताको विरोध गर्न थालिएको चर्चा गर्दै आफ्नो भाषा, कला र संस्कृति संरक्षण गर्न प्रदेशको प्रज्ञा–प्रतिष्ठान निक्कै प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको प्रज्ञा–प्रतिष्ठानलाई पनि सङ्घको प्रज्ञा–प्रतिष्ठान जस्तो बनाउन थप छलफल आवश्यक हुने पनि बताउनुभयो। 

उहाँले आफ्नो कार्यकाल सङ्घीयता कार्यान्वयनको पहिलो चरण भएको चर्चा गर्नुहुँदै कानुनको अभावमा प्रदेशको प्रज्ञा–प्रतिष्ठान गठनमा ढिलाइ भएको स्वीकार गर्नुभयो। प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले आफूले सुदूरपश्चिमको समग्र पक्षलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राज्यमन्त्री टेकबहादुर रैका, सचिव दीपक लामिछाने, साहित्यकार टोपेन्द्र शाह रसिकलगायतले प्रतिष्ठान र उपकुलपतिको सफलताका लागि शुभकामना दिनुभएको थियो।