कैलालीमा नागरिकका घरमा छन् यस्तायस्ता हतियार

कैलालीमा नागरिकका घरमा छन् यस्तायस्ता हतियार

धनगढी । सोमबार राति कैलालीको भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडा दुई राउण्ड गोली चल्यो । गोली लागेर एक जना स्थानीय घाइते भए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार गोली चलाउने बारेमा अझै पत्ता लागेको छैन । 

अघिल्लोदिन आईतबार साँझ कैलालीको अत्तरियाका एक सुनचाँदी व्यवसायीमाथि राजमार्गको बीचमै गोली प्रहार भयो । २–३ सय मिटरमै सशस्त्र प्रहरीको ब्यारेक र प्रहरी चौकी रहेको र सुरक्षित मानिएको स्थानमा नै उनीमाथि गोली प्रहार भएको थियो । बाइकमा सवार भएर आएका दुईजनाले दुई राउण्ड गोली प्रहार गर्दै लुटपाट गरि फरार भएका थिए ।

कैलालीमा पछिल्ला दुई दिनमा भएका यी दुई गोलीकाण्डका घटना हुन् । यहाँ भएका वैध तथा अवैध हतियारहरुको निगरानीको अभावमा यस्ता घटनाहरु दोहोरिरहेका छन् । 

यसैवर्ष टिकापुरमा भुपेश बडुवाल हत्याकाण्डमा २ थान हात हतियार बरामद भएको थियो । गतवर्ष टिकापुरको सिद्धार्थ होटलबाट २ थान पेस्तोल र ७ राउण्ड गोली बरामद भएको थियो । 

पछिल्लो एक वर्षमा जिल्लाका विभिन्न ठाउँबाट ९ थान अवैध बन्दुक समातिएको तथ्यांक प्रहरीसँग छ । जसमा भरुवा बन्दुक ५ थान, सानो पेस्तोल २ थान र बारबोर २ थान रहेका थिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका कैलालीमा स्थानीयले भरुवा, कटुवा, फाईरिङ वाले, सानो पेस्तोल, बारबोर लगायतका हतियारहरु स्वीकृति लिएरै लगेका छन् । त्यसबाहेक खुला सिमाना रहेको कैलालीमा अवैध हतियार कति छन् गन्ती नै छैन । कार्यालयको तथ्यांकमा जिल्लामा ४ सय ७२ हातहतियार नागरिकले दर्ता छन् ।

‘यी जिल्लामा दर्ता भएका हतियारमात्रै हुन । अन्य जिल्लामा दर्ता भएर पनि यहाँ हतियार हुनसक्छन्,’ जिल्ला प्रशासनका सुचना अधिकारी शिवराज जोशीले भने, ‘त्यसबाहेक अवैध तरिकाबाट पनि कति हतियार भेटिएका छन् । जिल्लामा ठ्याक्कै यति हतियार छन् भनि भन्न गाह्रो छ ।’

गत निर्वाचनका बेलामा प्रशासनले आफूसँग भएका हातहतियार बुझाउँन सुचना जारी गरेको थियो । त्यसबेला ४ सय ७२ थान हातहतियार बुझाईएको थियो । जसमा दुई नाले बन्दुक र फाईरिङवाला बन्दुक पनि थिए । 

जिल्लाको लम्की, टिकापुर, फुलवारी, गोदावरी, बनबेहडा र नाका क्षेत्रलाई संवेदनशील क्षेत्रका रुपमा लिइएको छ ।