बैतडीमा शिक्षक हत्या प्रकरण : श्रीमान श्रीमती पक्राउ

बैतडीमा शिक्षक हत्या प्रकरण : श्रीमान श्रीमती पक्राउ

बैतडी । बैतडीमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको छ ।

सुर्नया गाउँपालिका २ स्थायी घर भइ पाटन नगरपालिका ६ स्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सोही बिद्यालयमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान्९श्रीमती हुन् । श्रीमान पुष २६ गते पाटन भएका थिए । उनको केही दिनपछि विदेशको भिषा आउने भएकाले उनी श्रीमतीसंग बस्न पाटन भएका थिए  । 

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।


कृष्ण माविको छात्रावासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोला रावलले पुष्टि गरे ।

 शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो  तलामा ९ नम्बर कोठामा बस्दै आएका थिए । ‘छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ’ एक प्रहरी अधिकारीले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई छात्रापास पछाडी बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’


शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपील पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।