‘सुनकेशरी’ खराब फिल्म थियोः ऋचा शर्मा

‘सुनकेशरी’ खराब फिल्म थियोः ऋचा शर्मा

आफैले बनाएको वा खेलेको फिल्मलाई कुनै कलाकारले खराब थियो भन्ने हिम्मत यसै राख्दैनन् । तर, नायिका ऋचा शर्मालाई भने आफू निर्मित तथा अभिनित हरर फिल्म ‘सुनकेशरी’लाई खराब भन्न आपत्ती छैन ।

बुधबार आयोजना भएको फिल्म ‘चि मुसी चि’को पत्रकार सम्मेलनमा ऋचाले आफूले खराब फिल्म बनाएको बताइन् । उनले भनिन्–‘हरर फिल्म भन्ने बित्तिकै सुनकेशरीको नाम आइहाल्छ । हामीले बनाउन खोजेको चि मुसी चि थियो, तर सुनकेशरी जस्तो फिल्म बन्यो । सुनकेशरी एउटा खराब फिल्म बन्यो । तर, पनि जीवनमा सिक्ने हो । मैले धेरै कुरा सिक्ने मौका पाएकी छु ।’

ऋचाले ‘सुनकेशरी’बाट दर्शक, मिडियाकर्मीले दिएको आलोचनालाई स्विकार गर्दै त्यसको भरपाइको रुपमा ‘चि मुसी चि’लाई लिन पनि आग्रह गरिन् ।

ऋचाले नायक अर्पण थापासँग मिलेर बनाएको फिल्म ‘सुनकेशरी’ले खराब व्यापार मात्र गरेन, दर्शकले पनि यसलाई खराब फिल्म भनेका थिए । तर, पनि ऋचाले एक सातामा एक करोड कमाएको भन्दै केक काटेकी थिइन् ।