‘चि मुसी चि’ ट्रेलर पात्रमा अदृश्य शक्तिको डर

‘चि मुसी चि’ ट्रेलर  पात्रमा अदृश्य शक्तिको डर

 नेपालमा सबैभन्दा रिक्स जनरा मानिने हररमा आधारित फिल्म ‘चि मुसी चि स् इभन डेड डिजायर बिलिङ्गिङ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलरमा अदृश्य शक्तिको भयले पात्रहरुमा उत्पन्न डरलाई देखाइएको छ । ट्रेलरमा तर्साउने दृश्यभन्दा थ्रिल र सस्पेन्स पाटो बढी हाबी छ ।

ट्रेलरको अन्तिममा ऋचा शर्माको एउटा मन हुडल्ने संवाद छ, ‘छोराको चाहमा सानो बच्चालाई बलि दिइयो ।’ फिल्मको कथासार यसले प्रस्ट्याएको छ । ट्रेलरमा ब्याकग्राउन्ड म्यूजिक, लाइटिङ, क्यामेरा वर्क र कलाकारको भावभंगीले फिल्मप्रति उत्सुकता र कौतुहलता जगाउँछ । निर्देशक मर्ण जेम्सले भारतको मुम्बईमा घटेको एक वास्तविक घटनामाथि फिल्म बनेको जानकारी दिए ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपालको अभिनय रहेको छ । नाम चलेका यी कलाकारलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई रोचक हुनेछ । फिल्मले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ ।

निर्देशनमा मर्णलाई यश सैनीले सघाएकी छन् । पुष २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । फिल्मको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको दाबी छ ।