नागरिकताबारे रविले भने : न्याय पाउनेमा विश्वस्त छु

नागरिकताबारे रविले भने : न्याय पाउनेमा विश्वस्त छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा अधिकारप्राप्त निकायले सोधेको प्रश्नको जवाफ दिन आफू तयार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेपछि पत्रकारहरुसँगको कुराकानीमा उनले अदालतमा विचाराधीन विषय भएकाले त्यस विषयमा आफूले सार्वजनिक टिप्पणी भने नगर्ने बताए ।

‘अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु’ उनले भने, ‘यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानबिन गर्ने र न्याय दिनेछ भन्ने विषयमा म विश्वस्त छु ।’

सभापति लामिछानेले सरकार गठनको विषयमा संसद अनिर्णयको बन्दी बन्न नहुने बताए । आफूहरु चौथो दल भएकाले सरकारको नेतृत् वगर्ने विषयमा नसोचेको पनि उनले बताए ।

‘हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन । यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौंथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं’ लामिछानेले भने ।

उनले अगाडि भने, ‘अब संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढनुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’