स्वास्थ्य मन्त्रालयले भन्यो, 'नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन'

स्वास्थ्य मन्त्रालयले भन्यो, 'नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन'

नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए।

उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

हाम्रै छिमेकी देशहरुमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक रहेको उनले बताए ।