‘अ’मानवीय शोभराजलाई मानवताको सहारा

‘अ’मानवीय शोभराजलाई मानवताको सहारा

काठमाण्डौं । विश्वका विभिन्न देशका कारागारबाट सहजै उम्कँदै अपराधको साम्राज्य चलाएका फ्रान्सेली नागरिक चाल्र्स शोभराज उर्फ ‘बिकिनी किलर’ नेपालको कारागारमा १९ वर्ष लामो ‘म्याराथन’ कारावास भोग्न बाध्य भए। ३१ वर्षको युवा अवस्थामा नेपालमा आएर गरेको अपराधका कारण ५९ वर्षको उमेरमा २०६० असोज २ गते दरबारमार्गबाट उनी पक्राउ परेका थिए। त्यसयता ७८ वर्षको उमेरसम्म उनले कारावास भोग्नुपरेको छ। नेपालको कारावासबाट भाग्न उनले अनेकन् प्रयत्न गरिरहे तर अन्य देशमा जसरी सफल भएनन्। अन्ततः नेपाली कानुनमा भएको ‘मानवता’को सहारा लिएर आठ महिनाअगावै थुनामुक्त हुने भएका छन्।

१९ वर्ष तीन महिना पाँच दिन लामो कारावासलाई बिट मार्दै शोभराज शुक्रबार कैदमुक्त हुँदैछन्। शोभराज केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका व्यक्ति हुन्। त्यहाँबाट उनलाई शुक्रबार अध्यागमन विभागमा लगेर बुझाइनेछ। उनलाई अध्यागमनमा बुझाउने सम्पूर्ण तयारी पूरा भइसकेको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। कारागार प्रशासनबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं। अध्यागमन विभागसँग पनि आवश्यक सहकार्य र तयारीमा काम भइसकेका छन्,’ जेलर पाण्डेले नागरिकसँग भने, ‘आज (शुक्रबार) बिहानै कार्यालय समयमा अध्यागमन विभागमा बुझाउँछौं।’

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई ‘कैदमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था गर्न’  

सरकारलाई आदेश दिएको थियो। सोहीअनुसार बिहीबार केन्द्रीय कारागारले शोभराजको मुद्दा चलेका भक्तपुर जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतबाट ‘छुटपुर्जी’ लिएर कैदमुक्त गर्ने प्रक्रिया थालेको थियो।  

आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ भएपछि बिहीबारै कैदमुक्त गर्न नसकिएको केन्द्रीय कारागारका जेलर पाण्डेले बताए।

उता अध्यागमन विभागले पनि केन्द्रीय कारागारबाट बुझ्ने प्रक्रिया र त्यसपछि पूरा गर्नुपर्ने अध्यागमनका कामहरूबारे आवश्यक समन्वय र तयारी थालिसकेको विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले बताइन्। ‘आवश्यक कामहरू गरिरहेका छौं। कारागार र माथिल्लो निकायसँग पनि समन्वय भइरहेको छ,’ उनले भनिन्, ‘सबै काम प्रक्रियाअनुसार नै गरेर शोभराजलाई बुझ्छौं। अनि उनलाई आफ्नै देश (फ्रान्स) पठाउनेगरी काम गर्छौं।’  

अध्यागमन विभागले बुझेर अपराधीका हकमा पूरा गर्नुपर्ने अध्यागमनका मापदण्ड पूरा गरेर काठमाडौंस्थित फ्रान्सेली दूतावासलाई बुझाउनेछ।

ती मापदण्डहरू पूरा नभएसम्म शोभराज अध्यागमन विभागकै निगरानीमा हुनेछन्। यसरी निगरानीमा राख्दा कसैका हकमा अध्यागमन विभागले आफ्नै भवन प्रयोग गर्छ भने कतिपयले आफ्नै खर्चमा होटलमै बस्न पाउँछन्। शोभराजले भने ह्यात होटलमा बस्न चाहेको स्रोतकोे भनाइ छ।  

उनी २०६० सालमा पक्राउ पर्दा आफ्नै वैधानिक पासपोर्टको प्रयोग गरेर आएकाले विभागमा खासै समस्या नपर्ने स्रोतले बतायो। तर त्यसअघि भने एउटा देशबाट अर्को देशमा जाँदा आफैंले हत्या गरेका नागरिकको पासपोर्ट प्रयोग गर्ने गर्थे। अध्यागमन विभागले अध्यागमन प्रक्रिया पूरा गरिसकेपछि एउटा टिप्पणी उठाउनेछ र त्यो टिप्पणीमा गृह सचिवले हस्ताक्षर गरेपछि मात्रै फ्रान्स ‘डिपोर्ट’को बाटो खुल्नेछ। उनलाई फ्रान्स पठाउन अध्यागमन विभागले काठमाडौंस्थित फ्रान्सेली राजदूतावाससँग पनि समन्वय थालिसकेको विभाग स्रोतले बताएको छ। फ्रान्सेली दूतावासले पनि शोभराज आफ्नो नागरिक भएकाले बुझ्न सक्ने जनाउ दिइसकेको छ। उक्त दूतावासले ‘ट्राभल डकुमेन्ट’ बनाइदिनेछ भने यात्रा भाडा भने परिवारले नै बेहोर्नुपर्ने स्रोतको भनाइ छ।  

जेलमुक्त हुन मानवताको सहारा

जीवनभर अमानवीय र क्रूर ढंगले हत्याका शृंखला चलाउँदै देशदेशावर गर्दै हिँडेका शोभराज अन्ततः मानवताका आधारमा बनेको नेपाली कानुनका सहारामा कैदमुक्त हुने भएका छन्। नेपाली ज्येष्ठ नागरिकले पाउने मानवीयताका आधारमा पाउने ‘कैद मिनाहा’ मापदण्डका आधारमा सर्वोच्च अदालतले शोभराजलाई कैदमुक्त गर्ने आदेश दिएको हो। ‘मानवअधिकार मापदण्ड, संविधान, कानुनप्रदत्त अधिकारअनुकूल देखिएन,’ सर्वोच्चले जारी गरेको फैसलामा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन र यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन यो आदेश जारी गरिएको छ।’ हाल ७८ वर्षका शोभराज वृद्ध भएको र असल चालचलनमा रहेको साथै रोगले ओछ्यान परी निको नहुने अवस्थामा पुगेकाले ७५ प्रतिशतसम्म कैद छोट्याउन सकिने सर्वोच्चले ठहर गरेको छ।  

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा (१२) मा ‘कैद सजाय छुट दिन सकिने’ व्यवस्था गरेको छ। जसको उपदफा ९ग० मा ७५ वर्ष उमेर पुगेको नागरिकले ७५ प्रतिशतसम्म कैद सजाय छुट पाउने व्यवस्था गरिएको छ। शोभराजले २०३२ पुस ६ र ८ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिज र क्यानाडेली नागरिक क्यारिअरे लउरेन्टको हत्या गरेका थिए। सोही घटनामा भक्तपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जसअनुसार उनले २० वर्ष कैद भुक्तान गर्नुपथ्र्यो। जसलाई सर्वोच्च अदालतले पनि २०६७ साउन १४ मा सदर गरेको थियो। सोहीअनुसार २०६० सालमा पक्राउ परेपछि जेल परेका शोभराजलाई २०८० असोज १ सम्म जेल बस्नुपर्ने हुन्थ्यो। १९ वर्ष जेलमा रहँदा पटकपटक भाग्न खोजेका शोभराज नेपाली कारागारबाट त्यसरी भाग्न सक्ने स्थिति नदेखेपछि नेपाली कानुनको यही मानवीय पक्षको सहारा लिन पुगेका थिए। नेपाली नागरिकका हकमा बनेको यो व्यवस्थाको उपयोग सर्वोच्च अदालतले शोभराजको हकमा पनि गरेको छ। शोभराजले यो व्यवस्थाको प्रयोगका लागि यसअघि दुईपटक प्रयास गरेका थिए। मुटुरोगबाट पीडित उनलाई सर्वोच्चले दुईपटकसम्म कैद भुक्तानमा छुट दिन आदेश गरेको थियो।

विश्वका विभिन्न देशमा २० वटाभन्दा बढी हत्या गरेको आरोप शोभराजमाथि छ। ती देशमा आउने विदेशी नागरिक÷पर्यटकसँग विभिन्न बहानामा मित्रता गर्ने र उनैको हत्या गरेर फरार हुने गरेको उनको ‘ट्र्याक रेकर्ड’ छ। हत्याबाहेक चोरीडकैती, लागुऔषध, नक्कली नोटको कारोबारमा समेत उनी सक्रिय थिए। यसैक्रममा उनले अपराध दुनियाँका विभिन्न ‘अन्डरवल्र्ड’ गिरोहको सदस्य र नाइके भएर समेत काम गर्दै आएका थिए।

अपराध दुनियाँमा यसरी सनसनी मच्चाउँदै गएपछि विश्वभरका सञ्चारमाध्यममा पनि शोभराजको व्यापक चर्चा हुने गरेको छ। जेलभित्र हुँदा होस वा नहुँदा उनी कहिल्यै चर्चाभन्दा बाहिर रहेनन्। पछिल्लो समय केन्द्रीय कारागारमा रहँदा पनि युनुस अन्सारीको हत्या प्रयास गरेका मनमित सिंह भाटियासँग उनको नाम जोडिएको थियो। यही जेलमा बसेर उनले बेलायती सञ्चारमाध्यममा अन्तर्वार्ता दिनसमेत भ्याएका थिए। यसरी जीवनभर अमानवीय हर्कत गरेका शोभराजलाई नेपालको कानुनको मानवीय व्यवस्थाले जीवनको उत्तरार्धमा राहत दिएको छ। ‘उनले जीवनभर अमानवीय र क्रूर अपराधको साम्राज्य चलाइरहे। त्यसको सनसनीपूर्ण कथाको चर्चा विश्वभर छ,’ वरिष्ठ अधिवक्ता अनन्तराज लुँइटेलले भने, ‘तर जेसुकै भए पनि नेपालको कानुन र मानवअधिकारसम्बन्धी कानुनहरूले दिने सुविधा उनले पाए।’ उनीविरुद्ध नेपालमा रहेका सबै मुद्दा अन्तिम भएको र ९५ प्रतिशतभन्दा बढी सजाय भुक्तान गरिसकेकाले छुट्नु स्वाभाविक रहेको उनको भनाइ छ। ‘अदालतले मानवीयताका आधारमा नेपाली नागरिकले पाउनेबराबर सुविधा दिएको छ। फौजदारी कसुरदार भएकाले सम्बन्धित मुलुकमा पठाउने आदेश छ। फैसलामा समस्या छैन,’ उनले भने। साभार नागरीक दैनिक बाट