बोर्डको पक्षमा उभियो कलाकार संघ, चलचित्र संघलाई वार्तामा बस्न आग्रह

बोर्डको पक्षमा उभियो कलाकार संघ, चलचित्र संघलाई वार्तामा बस्न आग्रह

हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेपछि नेपाल चलचित्र कलाकार संघ बोर्डको पक्षमा उभिएको छ । चलचित्र संघले सूचना तथा सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाउनेदेखि बोर्डमा तालाबन्दी गर्नेसम्म निर्णय गरेपछि संघले शुक्रवार विज्ञप्ति जारी गर्दै बोर्डसँग वार्ता गर्न चलचित्र संघलाई आग्रह गरेको छ ।


अध्यक्ष रविन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा फिल्म क्षेत्रका विभिन्न वर्गीय संस्थाहरुले आफ्ना समस्या तथा मागहरु चलचित्र विकास बोर्डमार्फत् नै समाधान गर्ने र सम्बोधन गराउने परम्परा रहँदै आएकाले नेपाल चलचित्र संघका समस्या र मागहरु पनि बोर्डमार्फत् नै सम्बोधन हुनुपर्ने उल्लेख छ । विदेशी फिल्मको पक्षपोषणको संघले सदैव विरोध गर्दै आएको पनि जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समस्या र मागहरुको समाधान र सम्बोधन वार्ताद्वारा हुनु पर्दछ । वार्तामार्फत् नै हरेक समस्या समाधान भएको छ । चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघ संवेदनशील भएर वार्ताद्वारा समस्याको समाधानतर्फ उन्मुख हुन संघ अपिल गर्दछ । साथै, नेपाल चलचित्र संघ आफ्ना माग सम्बन्धमा विरोध कार्यक्रमभन्दा वार्तातर्फ अग्रसर हुन अनुरोध गर्दछौं ।’

FAAN-Presee-Release

बुधबार चलचित्र संघको राष्ट्रिय भेलाले बोर्ड निष्पक्ष हुन नसकेको, व्यवसायबाटै विस्थापित गर्न लागेको, व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । जसअनुरुप पुष १२ गते मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १५ देखि १७ गतेसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने, दुई घन्टा बोर्डमा धर्ना दिने र तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको छ ।