प्रजिअ थापाद्वारा मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन

प्रजिअ थापाद्वारा मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन

धनगढी  । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन गर्नुभएको छ ।

प्रजिअ थापा नेतृत्वको टोलीले भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो । नेपाल–भारत सीमाअन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ । जसमध्ये चार वटा सीमास्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी सात वटा सीमास्तम्भ भने भारतले मर्मत गर्नेछ । नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के–कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको जोशीले जानकारी दिनुभयो ।

यसैगरी, प्रमुख जिल्ला अधिकारीको टोलीले खक्रौला भन्सारमा भइरहेको राजस्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रणसम्बन्धी बैठक पनि सम्पन्न गरेको छ । पछिल्लो समय सो भन्सार कार्यालयका कार्यालय प्रमुख नै भारतबाट भन्सार नगराइ सामान आयात गराउने र राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको गुनासो बढेको थियो । सोही विषयलाई लिएर बैठक बसेको हो ।

यस्तै, टोलीले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरु सल्टाउनका लागि पनि छलफल गरेको छ । हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको जोशीले जानकारी दिनुभयो ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालयले घोडाघोडी नगरपालिकाका मृतक जीतबहादुर डङ्गौराका परिवारलाई राहत स्वरुप दुई लाख रुपियाँ पनि वितरण गरेको छ । गएको असोज २४ गते बाढीमा डुबेर डङ्गौराको मृत्यु भए पनि उहाँका परिवार राहत पाउनबाट छुटेका थिए । छुटेको परिवारलाई राहत रकम दिइएको छ । मृतककी श्रीमती चरनदेवी डङ्गौरा थारुलाई राहत रकम हस्तान्तरण गरिएको जोशीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल, सशस्त्र प्रहरीका अधिकारी लगायतको सहभागिता  थियो ।