बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी खुल्यो

बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी खुल्यो

बैतडी । बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी एक हप्तापछि मंगलबार खुलेको छ । गएको मंगलबार वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्ने माग सहित तालाबन्दी गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको रहोबरमा मंगलबार स्थानीयहरुसंग छलफल गरेर तालाबन्दी खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रमुख जिल्ला अधिकारी पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, वडा नं ७ का आन्दोलनरत पक्ष, कार्यवाहक नगर प्रमुख कृष्णदत्त भट्ट लगायतको उपस्थितीमा तालाबन्दी खोल्ने बारे छलफल भएको थियो । 

नगर प्रमुख भीमबहादुर चन्द नगरपालिकामा नफर्किदा सम्म अस्पतालका बिषयमा कुनै पनि काम अगाडि नबढाउने सहमतिमा तालाबन्दी खोलिएको हो । नगर प्रमुख र उपप्रमुख केही दिन पहिलादेखि काठमाण्डौंमै रहेका छन् । 

यस्तै वडा नं १ का बासिन्दाहरुसंग पनि छलफल भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए । मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा वडा नं १ र वडा नं ७ का स्थानीयहरुले आ आफ्नै ठाउँमा बन्नुपर्ने अडान राख्दै आएका छन् । दुवै पक्षको अडानका कारण २०७० सालदेखि अस्पातल निर्माणको काम अघि बढ्न सकेको छैन् । 

गएको बिहीबार मात्रै अस्पताल निर्माणकै बिषयमा दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका थिए ।