सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश

सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश

काठमाडौं: बलात्कार आरोपमा थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा अदालतले उमेर विवाद निरुपण गर्नका लागि अस्पतालबाटै आवश्यक कागजात झिकाउन निर्देशन दिएको छ।

मंगलबार साप्ताहिक पेसीका क्रममा जिल्ला अदालत काठमाडौँका न्यायधिश हिमलाल बेल्बासेको एकल इजालासले उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार मुद्दाका लागि महत्वपूर्ण मानिएका केही आधारहरुबारे निर्णय गरियोस् भनेर आग्रह भएको बताए। जसमा मुद्दामा महत्वपूर्ण मानिएको जन्मदर्ता तथा साथी देव खनाल र स्वास्थ्य परीक्षण गर्ने डक्टरलाई बकपत्रका लागि बोलाउन भनिएको हो।

केटीका दाजुले अस्पतालको कागजात मगाउनुपर्ने माग गरेका थिए। सोहीअनुसार जिल्ला अदालत काठमाडौँले मंगलबार किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने तथा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश दिएको छ।

त्यस्तै, किशोरी र सन्दीपका साथि रहेका देव खनाललाई पनि सुनुवाइका लागि बोलाउने आदेश अदालतले दिएको छ।

सन्दीपका वकिलहरुले जन्मदर्ताको प्रमाणसहित किशोरी नाबालिका नरहेको दाबी प्रस्तुत गरेका थिए। सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो।