चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, डा. केसी

चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, डा. केसी

चुरोटमा क्यान्सर गराउने विभिन्न ‘हाइड्रो कार्बन’, ‘बेन्जिन’ लगायतका केमिकलहरू हुन्छ । यसको असर त फोक्सोदेखि शरीरका सबै अंगमा पर्छ । त्यसमध्ये पनि घाँटीमा चुरोटको धुँवाले क्यान्सर गराउने जोखिम अधिक हुन्छ ।

घाँटी भन्नाले घाँटी मात्र पर्दैन । यसमा खाना नलीदेखि स्वरयन्त्रसम्म पर्छ । यी भागमा चुरोटको धुँवाले क्यान्सर गराउन सक्छ ।

धेरै मान्छेको प्रश्न हुनसक्छ, कति खिल्ली चुरोट तानेपछि क्यान्सर हुनसक्छ रु वा कति वर्षसम्म चुरोट तानेपछि क्यान्सर हुन सक्छ रु

यसको ठ्याक्कै जवाफ हुँदैन । मान्छेको शरीर, अवस्था फरक हुन्छ । कसैलाई चाँडै यसले क्षति पुर्‍याउन सक्छ भने कतिलाई लामो समयपछि । चुरोट पिउने अधिकांशलाई क्यान्सर नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी चाहिं छैन । यद्यपि चुरोट तान्नेलाई क्यान्सरको जोखिम त उच्च नै छ ।

अनि सावधान हुनुहोस्

तपाईं लामो समयदेखि चुरोट तानिरहनुभएको छ । यस्तो स्थितिमा तपाईंको स्वर परिवर्तन भयो । जस्तो कि स्वर धोद्रो हुन सक्छ, भाँसिन सक्छ । यतिबेला चिसो लागेर, रुघा लागेर भनी बहाना गर्दै नगरौं । किनभने लगातार तीन हप्तासम्म स्वरमा परिवर्तन आइरह्यो भने क्यान्सर परीक्षण गराउनैपर्छ ।

चुरोट तान्नेहरुको घाँटीमा क्यान्सर भएमा स्वर परिवर्तन हुन थाल्छ । त्यसपछि खानेकुरा निल्न गाह्रो हुन्छ । सास फेर्न कठिन हुन्छ । दम बढेको जस्तो हुन्छ । जब घाँटीमा गिर्खाहरु आउन थाल्छ, तब चिकित्सककहाँ जानैपर्छ । बायोस्पी परीक्षण गर्नैपर्छ । किनभने स्वर परिवर्तन हुनु र गिर्खाहरु आउनु क्यान्सरको प्राथमिक लक्षण हुन् ।

नाक र कानमा पनि क्यान्सर

चुरोट तान्नेहरुमा घाँटीको मात्र होइन, नाक र कानको क्यान्सर हुने जोखिम पनि धेरै छ । घाँटीमा गिर्खा पलाउने, नाकको एलर्जी हुने जस्ता समस्या देखिएमा क्यान्सरको लक्षण हुन सक्छ ।

त्यसो त चुरोट तान्नेमा कानसम्बन्धी अन्य समस्या पनि भइरहेकै हुन्छ ।

सुरुवाती क्षणमा उपचार सहज

चुरोट तान्ने व्यक्तिको स्वरमा परिवर्तन आउनासाथ अस्पताल जानैपर्छ । जति चाँडो अस्पताल जान सकिन्छ, उपचार उति नै छिटो हुन सक्छ ।

जति लामो समयसम्म धुम्रपान गरिन्छ, क्यान्सरको जोखिम बढ्दै जान्छ । क्यान्सरको लक्षण देखिनेबित्तिकै अस्पताल गएर चिकित्सकको सल्लाह लिंदा क्यान्सरको स्टेजअनुसार उपचार सम्भव हुन्छ ।

घाँटीको कुन भागमा मासु पलाएको छ वा क्यान्सरको लक्षण दुखिएको छ भन्ने कुरा इण्डोस्कोपी गरेर हेर्नुपर्छ । इण्डोस्कोपी गर्दा क्यान्सरको शंका लाग्यो भने बायोप्सी गरेर हेर्नुपर्छ । क्यान्सर हो कि होइन भन्ने कुरा बायोप्सीमार्फत पत्ता लाग्छ ।

क्यान्सर कत्तिको फैलिएको छ र कुन स्टेजको छ त्यही अनुसार उपचारको विधि हुन्छ । पहिलो स्टेजमा अस्पताल पुग्यो भने यसको उपचार सजिलो हुन्छ । दोस्रो र तेस्रो स्टेज छ भने उपचार जटिल हुन्छ । उदाहरणको लागि कुनै व्यक्तिको सास फेर्ने नलीमा पहिलो स्टेजको क्यान्सर पत्ता लाग्यो भने लेजरबाट त्यसलाई निकालेर फाल्न सकिन्छ ।

त्यही व्यक्तिमा दोस्रो तथा तेस्रो स्टेजको क्यान्सर पत्ता लाग्यो धेरै फैलिएको छ भने ठूलो शल्यक्रिया गरेर स्वरयन्त्र नै निकाल्नुपर्ने हुन सक्छ । जीवनभर घाँटीमा प्वाल पारेर बस्नुपर्ने पनि हुन सक्छ ।

चुरोट त्यागौं

त्यसैले क्यान्सरसँगै विभिन्न स्वास्थ्य समस्याबाट बच्न धुम्रपान त्याग्नुपर्छ । धुम्रपान त्यागेको भोलिपल्टबाट नै दम, क्यान्सरलगायत अन्य स्वास्थ्य समस्याको जोखिमबाट बच्न सकिन्छ ।