काठमाडौं: आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र बिरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौं महानगरपालिकाले इच्छुक संघ संस्थालाई आव्हान गरेको छ ।
सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको छ । बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख गरिएको छ ।
इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्यालगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनु पर्नेछ ।
अहिले सामुदायिक कुकुरहर खाना नपाएर कुपोषित भएका, छालाजन्य रोगले ग्रस्त भएका, दुर्घटनाबाट अंगभंग भएका जस्ता समस्यामा छन् । उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिसहरुमा पनि समस्या छ । कुकुरको टोकाइ पछि रेबिजविरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढने गरेको छ ।