कोठामा रातभर हिटर वा कोइला बालेर सुत्नुहुन्छ ? सावधान

कोठामा रातभर हिटर वा कोइला बालेर सुत्नुहुन्छ ? सावधान

काठमाडौं: चिसो बढेसँगै रातको समयमा कोठामा हिटर वा कोइला बालेर सुत्ने धेरै हुन्छन् । यसरी कोठा बन्द गरी हिटर वा कोइला बाल्दा कोठाभित्र अक्सिजन प्रवाह कम हुन जान्छ । यसबाट कोठामा कार्बन मोनोअक्साइड बढ्ने भएकाले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई मृत्यु हुनेसम्मका घटना हुने गरेका छन् ।

यसै सन्दर्भमा जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंले हिटर र कोइला प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । आफू बाहिर निस्कँदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्नु होला, सूचना जारी गर्दै परिसरले लेखेको छ, झ्याल ढोकाका चरामा बोरा, कपडा राखी हिटर लगायतका विद्युतीय उपकरणहरू नबाल्नुहुन अनुरोध गरिन्छ ।

चुल्हो, फलामको चुल्हो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न र झ्याल ढोका बन्द गरी ग्यास गिजर प्रयोग नगर्न पनि प्रहरीले सचेत गराएको छ ।

त्यस्तै विद्युतीय उपकरणका स्विच, मल्टी प्लगलाई काम सकिएपछि बन्द गर्न, चुल्हो, मकल, फलामको चुल्हो, हिटर नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री (कागज, ब्याल्ङ्केट, कपडा, कपास, भुस्सा जन्य पदार्थ) नराख्न प्रहरीले अनुरोध गरेको छ ।