एमाले अध्यक्ष केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी

एमाले अध्यक्ष केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ। 

ओली र नेपालबीच शुक्रबार भेट हुने तयारी रहेको भईरहेको छ । समय र स्थान तय भएको छैन। तर दुई नेताको शुक्रबार भेट हुँदैछ, उच्च स्रोतले भन्यो, दुवै पार्टीका नेताहरूको औपचारिक र अनौपचारिक छलफलपछि भेटको तय भएको हो ।

ओली र नेपालबीच सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ। दुई नेताबीच २०७८ वैशाख यता भेट भएको छैन। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा ओली र नेपालबीच समान्य कुराकानी भएको थियो।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले ओली र नेपालको बीचमा भेट गराउने प्रयास भइरहेकाले जुनसुकै बेलापनि भेट हुन सक्ने बताए। हामीले पार्टी एकता नगरी उपाय छैन। तर हामी सम्मानजनक एकता चाहान्छौं। दुवै पार्टीका तर्फबाट विभिन्न तहका नेताहरू सक्रिय छन्, उनले भने, ओली र नेपाल दुवैले एकले अर्कालाई कति गलाउने भन्ने सोचेका हुनसक्छन्। तर आजको आवश्यकता पार्टी एकता नै हो।

नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसँग एकता गरेर संसदको ठूलो दल बन्ने प्रयास समेत गरेको छ। त्यसका लागि उसले नेकपा एकीकृत समाजवादीका १० र आफ्नो पार्टीबाट विद्रोह गरेर मोरङ क्षेत्र नं ५ बाट निर्वाचन जितेका स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई समेत ल्याउने प्रयास गरेको छ। त्यस्तो भएमा एमालेका ८९ जना सांसद हुन्छ। नेपाली कांग्रेसका पनि ८९ जना सांसद छन्।