सामुदायिक विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

डोटी । सामुदायिक विकास केन्द्र डोटीको वार्षिक  प्रगति समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । 
संस्थाले एक वर्षको अवधिमा गरेका विभिन्न परियोजना र संस्थागत गतिबीधीहरुको बारेमा सेवाग्राही र सरोकारवाल निकायलाई जानकारी गराई आगामी वर्षका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले वार्षिक सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरिएको थियो । 
सामाजिक परीक्षण कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटीले डोटी जिल्लाका विभिन्न पालिकाहरूमा सञ्चालन गरेको विभिन्न परियोजना र संस्थागत रूपमा गरेका गतिविधि हरुको बारेमा जानकारी गराइएको सामुदायिक विकास केन्द्र डोटीका लेखा संयोजक तीर्थराज पन्तले बताए । 

सामुदायिक विकास केन्द्र डोटी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गर्ने सम्पूर्ण  कार्यक्रमलाई सहयोग गर्न सदैव तयार रहेको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । उनले भने हाम्रा कार्यक्रम फरक प्रकारले छुट्टै तरिकाले गर्ने होईनन सबै कार्यक्रमहरु सरकार संग सहकार्य गरेर सरकारका कार्यक्रमलाई सहयोग गर्न सहयोगी निकाएको रूपमा काम गरिरहेको बताए । डोटी जिल्लामा शिक्षा क्षेत्रमा देखिएका उपलब्धी सबैको साझा प्रयासबाट भएको आगामी दिनमा पनि साझा सहकार्य आवश्यक रहेको समेत अध्यक्ष जोशीले बताए। 
सामुदायिक विकास केन्द्र डोटीले स्थानीय सरकारले शिक्षा क्षेत्रमा गर्न नसकेका कार्यक्रमहरु सञ्चालन गरी सहयोग गरेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । संस्थाले सञ्चालन गरेका पढाई मेला, शिक्षा सम्बन्धीका विभिन्न अभियानहरू प्रभावकारी रहेको र स्थानीय सरकारले अनुसरण गर्ने समेत अध्यक्ष खड्काले बताए । 

डोटी जिल्लाको शिक्षा क्षेत्रको गुणस्तर सुधारमा सामुदायिक विकास केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । संस्थाले गरेका हरेक कार्यक्रममा पूर्ण सहयोग गर्ने समेत संयोजक सिंहले बताए ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले सामुदायिक विकास केन्द्र डोटीले जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने नमुना संस्थाको रूपमा रहेको चर्चा गरेका थिए । आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका  लागि निरन्तर रूपमा अगाडी बढ्नु पर्ने, दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने,  डोटी जिल्ला भरी कार्य क्षेत्र बनाई काम गर्नु पर्ने लगायतका सुझावहरू समेत दिएका थिए । 
कार्यक्रममा समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमको प्रस्तुतीकरण दिनेश बम , एकीकृत समुदाय विकास कार्यक्रमको प्रस्तुतीकरण एकराज बडु, स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको प्रस्तुतीकरण प्रवेश गौतम, एजुकेसन ईन इमरजेन्सी परियोजनाको तिलक चौधरी र आर्थिक प्रगति प्रतिवेदनको प्रस्तुतीकरण  लेखा संयोजक तीर्थराज पन्तले गरेका थिए । सामुदायिक विकास केन्द्र डोटीको ३० औँ स्थापना दिवसको अवसरमा संस्थाले जिल्लामा विभिन्न क्षेत्रका सरोकारवाला निकायहरूलाई सम्मान समेत गरेको थियो । 

सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंह रहेका थिए भने अन्य विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख स्मृति चुनारा, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का, पुर्विचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्का लगायत, विभिन्न पालिकाका वडा अध्यक्ष, कार्यक्षेत्र रहेको पालीकाका शिक्षा शाखा प्रमुख, गैसस महासंघ, वल्र्डभिजन, गुड नेर्वसका प्रमुख प्रतिनिधि,पत्रकार, शिक्षक, अभिभावक, बाल क्लब, सहकारी समूह लगाएको सहभागिता रहेको थियो । वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।