सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदुरपश्चिम प्रदेशमा आज पुषे पन्ध्र पर्व मनाइँदै छ । पुषे पन्ध्रमा लोककथाहरु सुन्ने÷सुनाउने गरी राति अबेरसम्म रमाइलो गर्दै जाग्राम बस्ने चलन रहेको छ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।
पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगाएतका माटोमुनी पउम्रिने चिजहरुलाई उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फुर्ति, तागत बढ्ने किम्वदन्ती छ । यो दिन वनको पूजा गर्ने चलन छ । यो दिन यस क्षेत्रका मानिसले वनजंगलमा काम नगर्ने र बञ्चरो, हँसियाँ, वनारो घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्छन् । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको जंगलमा पाईने तरुल खनेर उसिनेर खान्छन् । 
पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ । पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ । यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको धनगढीका लोकराज जोशीले बताउनु भयो ।

सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिनेजोशीले बताए । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो । जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’

घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ । सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।

रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई । जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।

पुस पन्ध्रको रातमा आमाबुवाको डर अथवा अन्य कसैप्रतिको संकोच रहदैन । सुरुसुरुमा केटाकेटीहरु सँगै मनाउथे पुस पन्ध्रलाई । गाउँभन्दा टाढा एकान्त स्थलमा गएर शालिन र भद्र ढंगले रमाउने चलन थियो । पछिल्ला दिनहरुमा यो पर्व मात्र औपचारिकता निभाउने ढंगले मनाइदैछ । बिभिन्न बिक्रितिका कारण केटाकेटीहरु छुट्टाछुट्टै समूहमा मनाइरहेका छन । गाउँमै कसैको घरमा जम्मा भएर मनाइरहेका छन् । 
पुसपन्ध्रलाई कतिपय विद्वान्हरुले मानव संस्कृति र सभ्यताको अभिन्न अङ्गका रुपमा ब्याख्या गरेको पाइन्छ । शालीन र भद्रढंगले डेउडा खेलमा सवाल जवाफहरु समेत हुन्छन यो पर्वमा । अगणित कालदेखि नै महिला पुरुषसँगै डेउडा खेल खेल्दै आइरहेका छन् जसका लागि राज्यमा कुनै प्रजातन्त्र वा लोकतन्त्रको आगमनको बाटो कुर्नु परेन ती महिलाहरुले ।