नयाँ पिढीले बिर्से आईना–बातै

नयाँ पिढीले बिर्से आईना–बातै

बैतडी  । ‘नपाया हर्जा हुन्या, पाया मुन्डा पड्डे, कि हो ?’ –टोपी 

‘बाईर हड्डी भितर मासु, मासु भितर आसुँई आसुँ, कि हो ?’  –नरिवल–पानी 

प्रश्नरउत्तर मिश्रित यी हरफ डोटेलीका आईना हुन् । आईना यहाँको हाजिरी जवाफ प्रतियोगिता जस्तै हो । पुस १५ गतेको राति घर परिवार र छरछिमेकी एकै ठाउँमा जम्मा भई शरीरलाई न्यानो हुने मीठो मसिनो मौलिक परिकार खाएर आईना र बातै हाल्ने चलन छ । बातै भनेको कथा हो । आईनामा सवाल जवाफ हुन्छ भने बातै एक जनाले भन्ने र अरुले सुन्ने गर्छन् । 

सुदूरपश्चिमा पुस १५ को रातलाई ठूली रात पनि भन्ने गरिन्छ । पुस १५ गतेका दिन रात लामो हुने जनविश्वास रहेको छ । पुसको राति कागलाई “पौली जाने” अर्थात् चिसोका कारण काग बेहोस हुने किम्वदन्ती छ । 

पुस १५ गतेका दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सख्खर र खुदो पकाएर खाने चलन रहेको छ । उखुको सख्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने  गरिन्छ । खुदेउडामा पनि गाउँलेहरु जम्मा भएर आईना–बातै हाल्ने चलन रहेको छ । यद्यपि, सूचना प्रविधिको विकाससँगै नयाँ पिढीले आईना र बातै बिर्सँदै गइरहेको संस्कृतविद् चन्द्रमोहन तिवारीले बताए  । 

उहाँले भन्नुभयो, “अहिले पुसे १५ को मौलिकता हराउँदै गएको छ । तरुल र सख्खरलगायत मिठा परिकार खाएर मात्रै पुस १५ को मौलिकता जोगिँदैन । पुसे १५ सँग जोडिएको भाषा, संस्कृति नै रहेन । नयाँ पिढीलाई आईना–बातै थाहा छैन । परिकार खाएर के गर्नु ? आईना बातै जस्ता कुरा टिकटक र फेसबुकले खाइसक्यो ?” 

पुुस १५ का दिन तरुल, वन तरुल, सखरगञ्ज, फर्सीलगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी, माँणा, बटुक, खिचडी खाने चलन रहेको छ । पुसे पर्वमा विवाहित छोरीबेटीलाई माइत बोलाएर स्वागत सत्कार गर्ने चलन रही आएको साहित्यकार कर्णदयाल सोराडीले बताए । 

पुस १५ को मौलिकता जोगाउन प्रगतिशील लेखक सङ्घ र गुगुल्डी बाङ्मय प्रतिष्ठानको आयोजनामा बैतडी सदरमुकाममा आज आईना प्रतियोगिता सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।