काठमाडौं । नेपाली रक एण्ड रोल ब्याण्ड ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ले आज २० औ बर्षगाँठ मनाउँदैछ ।
सांगीतिक यात्राको यो विन्दूमा आइपुगेको ब्याण्डले आज सेलिव्रेसन समारोह समेत आयोजना गरेको छ । दुई दशक पुगेको सन्दर्भमा विज्ञप्ति जारी गर्दै ब्याण्डले एल्बम रेकर्ड गर्ने घोषणा गर्दै सन् २०२३ मा विश्व टूरको योजना सार्वजनिक गरेको छ ।
‘रक एण्ड रोल को २० वर्ष । हाम्रो यात्राको हिस्सा भएकोमा धन्यवाद । पुरस्कारहरु हाम्रा लागि दुर्लभ थिए तर २० वर्षपछि पनि यहाँ उभिनसक्नु वास्तवमै हामीले सोच्न सक्ने सबैभन्दा ठूलो सम्मान हो’ ब्याण्डले भनेको छ ।
‘हामी २० वर्षको सम्झनामा एल्बम रेकर्ड गर्दैछौं र यो वर्ष धेरै भ्रमण गर्नेछौं । यहाँ रक एण्ड रोल छ र दशकौंसम्म हामीसँगै बसेका मानिसहरु पनि यहीँ छन् । हामी हार्दिक कृतज्ञ छौं’ ब्याण्डले लेखेको छ ।
जनवरी २, २००३ मा स्थापना भएको ब्याण्डले होटल र लाउन्ज बारमा लाइभ गिग गर्दै सांगीतिक करिअर थालेको थियो । रक ब्याण्डको रुपमा चर्चित हुनुअघि यो एकोस्टिक ब्लू ब्याण्डको रुपमा परिचित थियो ।
अभया सुब्बा ब्याण्डकी संस्थापक र व्यवस्थापक समेत हुन् । लिड गिटारिस्ट रिन्छेन पाल्जारले सन् २००४ मा ब्याण्ड ज्वाइन गरेका थिए । अर्का गिटारिस्ट नवीन लामालाई अभयाले स्प्राइट ब्याण्ड च्यालेन्ज नामक एक रियालिटी शोको क्रममा भेटाएकी थिइन् ।
बिराट श्रेष्ठ र अजित तामाङ पनि ब्याण्ड सदस्य हुन् । परिक्रमा, रेड स्काइवार्कस र पञ्चतत्वजस्ता ब्याण्डमा काम गरिसकेकी अभयाले त्यसपछि मात्र स्टिम इन्जिन्स निर्माण गरिन् ।
६ वर्षअघि रिलिज भएको ‘तिम्रो लागि’, गतवर्षको ‘लैजाऊ मलाई’ ब्याण्डका हिट गीतहरु हुन् । एकसाताअघि नयाँ गीत ‘आज किन’ सार्वजनिक भएको छ ।