चर्चित गायक यम बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’माथि फिल्म निर्माण हुने भएको छ । गायक बराल स्वयंले फिल्मको निर्माण गर्न लागेका हुन् । लभस्टोरी कथामा बन्न लागेको फिल्मका लागि कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । फिल्मको कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको जानकारी प्राप्त छ ।
‘बादलुको घुम्टोले’ गीतको नयाँ संस्करण फिल्ममा समावेश गर्ने र त्यसमा गायक बराल आफैं देखिन सक्नेछन् । फिल्मलाई पहिला शिवम् अधिकारीले निर्देशन गर्ने निश्चित भएको थियो । चलचित्र विकास बोर्डमा नाम दर्ता गर्दा निर्देशकमा उनकै नाम थियो । तर, उनले अर्को एक फिल्मलाई समय दिनुपर्ने भएपछि निर्देशन गर्न नभ्याउने भएका छन् । फिल्मको पटकथारसंवाद भने उनकै हो ।
अमेरिकालाई कर्मथलो बनाएका डेभिड लाम्नासँग मिलेर बरालले फिल्म निर्माण गर्न लागेका हुन् । इलाम, झापा र अन्य पर्यटकीय स्थलमा फिल्मको छायांकन हुनेछ । ‘बादलुको घुम्टोले’को म्यूजिक भिडियो समेत बनेको छैन । धेरैले यसको म्यूजिक भिडियो बनाउन सुझाव दिए पनि गायक बरालले भने फिल्म बनाउन लागेका हुन् । उनी यसअघि फिल्म ‘भैरे’मा निर्माताको रुपमा थिए ।
एक समय नेपाली फिल्ममा पार्श्व गायकको रुपमा यमको सर्वाधिक खोजी हुने गर्थ्यो । उनले एक सयभन्दा बढी फिल्मका सुपरहिट गीतमा स्वर भरेका छन् । उनको परिचय गायक र निर्माताको रुपमा मात्र सीमित छैन, उनी कलाकार समेत हुन् । उनले ‘मालती’ र ‘गुरु चेला’ गरी दुई फिल्ममा अभिनय गरेका छन् । पछिल्लो समय उनी नेपालभन्दा बढी अमेरिकामा बसोबास गर्ने गरेका छन् ।