पाल्पामा बस दुर्घटना हुँदा एकै गाउँमा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा एकै गाउँमा ६ जनाको मृत्यु

काठमाडौं  । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफाँटनजिकै राहादी गैरामा दुर्घटना भएको वडाअध्यक्ष रेमबहादुर रानाले  बताए ।

उनका अनुसार मृतक सबै रैनादेवी छहरा- ८ खुर्सानेका छन् ।

ग. १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जना महिलाको मृत्यु भएको हो । दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा अध्यक्ष रानाले जानकारी दिए ।

रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन नसकेको उहाँको भनाई छ । बस सडकबाट ५०/६० मिटर तल भीरमा खसेको बताइएको छ ।