पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट सफल प्रक्षेपण

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट सफल प्रक्षेपण

काठमाण्डाै : पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका) का भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

स्याटेलाइटबाट के फाइदा हुन्छ ?

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ ।

यसका लागि नास्टले खुमलटारमा रहेको आफ्नो कार्यालय परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गर्दैछ । झण्डै २० लाखको लगानीमा ग्राउण्ड स्टेशन निर्माणका लागि नास्टले बोलपत्रसमेत आह्वान गरिसकेको छ । जेठ २० गतेसम्म निर्माण गरिसक्ने उद्देश्य राखिएको स्टेशनका लागि विदेशबाट उपकरण मगाउने काम पनि भइसकेको छ ।

एक महिनापछि स्याटेलाइटले पठाएका तस्बिर खुमलटारमै रहेको ग्राउण्ड स्टेशनले ‘रिसिभ’ गरेर अनुसन्धानका लागि सहयोग गर्नेछ । अहिले स्याटेलाइटले पठाएका तस्बिर जापानमा रहेको क्युटेक विश्वविद्यालयको ग्राउण्ड स्टेशन, नासाको मुख्यालयमा पनि प्राप्त हुनेछन् ।

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन । सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन् । तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग पुर्‍याउने छ ।

यसका साथै मेगा स्याटेलाइट निर्माण, यसको प्रक्षेपण र सञ्चालनका लागि पनि न्यानो स्याटेलाइट सहयोगी बन्नेछ ।