एडीएसएल विस्थापित गर्दै टेलिकम

एडीएसएल विस्थापित गर्दै टेलिकम

काठमाडौं : नेपाल टेलिकमले एडीएसएल सेवालाई फाइबर टु दी होम एफटीटीएचले विस्थापति गर्ने जनाएको छ। बिहीबार विभिन्न परियोजनाबारे जानकारी दिन आयोजित अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल टेलिकमको एडीएसएल प्रयोगकर्तालाई एफटीटीएचमार्फत सेवा उपलब्ध गराउने गरी तयारी भएको बताए।

‘ग्राहकलाई नयाँ प्रविधिमार्फत सेवा उपलब्ध गराउने योजनाका साथ यसको सुरुवात गरिएको हो’, अधिकारीले भने। हाल एडीएसएल सेवा लिइरहेका ८० प्रतिशत ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने टेलिकमको योजना छ। ‘एडीएसएलमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेकोमा एफटीटीएचमा रुपान्तरण गर्ने योजना हो’, उनले भने, ‘मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तार भइरहेको छ।

इन्टरनेटको साथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ।’ हाल देशभर ४० हजार नौ सय ६० लाइन एफटीटीएच सेवा प्रदान गर्न सकिने नेटवर्क तयार भएको र थप नेटवर्क विस्तार जारी रहेको अधिकारीले बताए।

कार्यक्रममा बोल्दै अधिकारीले कम्पनीले व्यवसाय मात्र नगरी सेवालाई प्राथमिकता दिनुपर्ने भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए। जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवा देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको उनले उल्लेख गरे।हाल एडीएसएल सेवा लिइरहेका ८० प्रतिशत ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने टेलिकमको योजना छ।

कार्यक्रममा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले कम्पनीका विभिन्न आयोजना र हालको प्रगति तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिएकी थिइन्।

उनले टेलिकमको फोरजी सेवाअन्तर्गत देशभर सेवा विस्तारको लागि २०७५ माघ २० मा तीनवटा सम्झौता भई साइट सर्भेको काम सुरु भएको बताइन्। उनका अनुसार फोरजीको कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान छन्।

त्यस्तै मोबाइल सेवाअन्तर्गत टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार सयवटा थ्रीजी बीटीएसको स्तरोन्नति गरेको जनाएको छ।

उक्त अवधिमा चार सय सात वटा बीटीएस थप गरिएको र एक करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप्ने कार्य जारी रहेको उल्लेख छ। उक्त आयोजनाअन्तर्गत प्याकेज ‘बी’को शतप्रतिशत काम सकिएको र प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएकाले चालु आवभित्र सम्पन्न हुने टेलिकमले जनाएको छ।

त्यस्तै मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारका लागि पनि सम्झौता भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने आयोजनाका लागि पाँचमध्ये चारवटा सम्झौता सम्पन्न भइसकेको जनाइएको छ। बाँकि रहेको एउटा पनि शुक्रबारै सम्पन्न हुने अधिकारीले बताए।