विद्यार्थी भर्ना अभियानमा तीब्रता

विद्यार्थी भर्ना अभियानमा तीब्रता

कञ्चनपुर - राष्ट्रिय विद्यार्थी भर्ना अभियान सुरु भएसँगै कञ्चनपुर  जिल्लामा समेत विद्यार्थी भर्ना अभियानमा तीब्रताका साथ अगाडि बढेको छ । जिल्लाका नौवटै स्थानीय तहले विद्यार्थी भर्ना अभियान थालेका छन् । उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्नका लागि जिल्लाका नौवटै स्थानीय तह अभियानमा जुट्न थालेका हुन् ।

शैक्षिक सत्र २०७६ को विद्यार्थी भर्ना अभियान श्री सिद्देश्वर मा बि हल्दुखालबाट गरिएको निङ्गलाशैनी स्रोतकेन्द्रका स्रोत व्यक्ति भवानी पन्तले बताए । उनका अनुसार भीमदत्त न पा ७ कन्चनपुरमा नगर प्रमुख श्री सुरेन्द्र बिस्टद्वारा बाल कक्षा र कक्षा १ मा विद्यार्थी भर्नाको सुभारम्भ गरिएको छ । 

नयाँ भर्ना हुने विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्र वितरण गरिएको उनले बताएका छन् । विद्यार्थी भर्ना अभियानमा  श्री सिद्देश्वर मा.बि. हल्दुखालले नया भर्ना हुने बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको छ ।

जिल्ला सदरमुकामा रहेको भीमदत्त नगरपालिकाले विशेष भर्ना कार्यक्रम अघि बढाएको छ । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले नयाँ भर्ना हुने विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्र वितरण गर्ने गरेका छन् । 

‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔँ’ भन्ने मुल नाराका साथ जिल्लाका ९ वटै स्थानीय सरकार विद्यार्थी अभियानमा जुटेका छन् । दुई गाउँपालिका, सात नगरपालिकासहित सबै स्थानीय तहका जनप्रतिनिधी वैशाख २ गतेदेखि विद्यार्थी अभियानका लागि खटिएका हुन् । 

त्यस्तै महाकाली नरपालिकाले ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर विद्यार्थी अभियानका लागि सामुदायिक विद्यालयसँग समन्वय गरेर प्रचारप्रसारमा जुटेको छ । उता, बेदकोट नगरपालिकाले समेत वडा समिति मार्फत विद्यार्थी अभियान अघि बढाएको छ । शुक्लाफाँटा, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकालगायतका स्थानीय तहले समेत राष्ट्रिय विद्यार्थी भर्ना अभियान तीब्र रुपमा अघि बढाएका छन् ।

यहाँका स्थानीय तहले शिक्षक, अभिभावक सँग समन्वय गरेर विद्यार्थी भर्ना अभियान अन्र्तरगत प्रचारप्रसार, घरदैलो एवम् औपचारिक कार्यक्रम गरेर अघि बढाएका छन् । कञ्चनपुरका स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका निमित्त इकाइ प्रमुख राजेन्द्र भट्टले विद्यार्थी भर्ना अभियानका लागि समन्वय इकाइ केन्द्रले ९ वटै स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनका अनुसार समयमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।

कुल २ सय ६१ सामुदायिक विद्यालय कञ्चनपुरमा गत शैक्षिक सत्रमा झण्डै पाँच हजार विद्यार्थी नयाँ भर्ना भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्यांक अनुसार गत शैक्षिक सत्र ०७५ मा चार हजार ९ सय ३४ विद्यार्थी भर्ना भएका थिए ।

साभार - हाम्रा कुरा