अग्रिम बुकिङमा ‘पठान’ ले बनायो नयाँ कीर्तिमान

अग्रिम बुकिङमा ‘पठान’ ले बनायो नयाँ कीर्तिमान

बलिउड सुपरस्टार शाहरूख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ को क्रेज बढिरहेको छ।

चार वर्षपछि फिल्ममा फर्किएका किङ खानको आगामी फिल्मलाई लिएर फ्यानमा उत्साह छ।  पठानको कुरा गर्दा उनी रिलिज हुनुअघि नै एकपछि अर्को रेकर्ड तोडिरहेको छ। 

निर्माण पक्षले २० जनवरी २०२३ देखि यस फिल्मको अग्रिम बुकिङ सुरु गर्ने मेगा घोषणा गरेको थियो। तर, पछिल्लो तथ्यांकले चकित पारेको छ।

भारतीय बक्स अफिसले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार शाहरुख खानको फिल्म पठानले दुई दिनअघि २० करोडको कीर्तिमान तोडेको थियो, त्यहाँ अब फिल्मले ३० करोडको व्यापार गरेर ऋतिक रोशनको फिल्म वारलाई पछाडि छोडेको छ ।

पठान रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरुले धमाधम बुकिङ गरिरहेका छन्। 

पठानले रणबीर कपूर र आलिया भट्टको ब्रह्मास्त्रलाई अग्रिम बुकिङको मामिलामा पछि पारिसकेको छ।

हिन्दी फिल्मको लागि सबै समयको कीर्तिमान केजीएफ-२ को नाममा रहेको छ। उसले ४२ करोड नेट कमाएको छ त्यसलाई पनि पठानले पछि पार्ने सम्भावना रहेको भारतीय बक्स अफिसले जनाएको छ।

कोरोना महामारीपछि पठान अग्रिम बुकिङका हिसाबले ५० करोड कमाउने पहिलो हिन्दी फिल्म बन्ने सहजै अनुमान गर्न सकिन्छ। तर, यदि यस्तो भयो भने शाहरुख खान, दीपिका पादुकोण र पठानको टोलीका लागि यो ठूलो सफलता हुनेछ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सोमबार साँझ ८:४५ बजेसम्म भारतका तीन ठूला मल्टीप्लेक्स चेनमा मात्र ३ लाख ९१ हजार बढी टिकट विक्री भइसकेको छ।