सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

धनगढी ।  सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा  हिमपात भएको छ। सुदूरपश्चिममा बाजुरा, दार्चला, बझाङ, बैतडी र डडेल्धुरालगायतका क्षेत्रमा हिमपात हुने गर्दछ । सुदूरपश्चिमका तराईका दुई मात्र जिल्ला कैलाली र कञ्चनपुरमा मंगलबारदेखि वर्षा भइरहेको छ। यस पटक डडेल्धुराबाहेकका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। बाजुरा, बझाङ, अछाम र डोटीमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपात पर्न सुरु भएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

उनका अनुसार खप्तडमा मङ्सिरको अन्तिम सातादेखि हिमपात हुने गरेको भए पनि यस पटक माघमा आएर हिउँ पर्न थालेको छ। बाजुरामा सोमबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ। बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिकलगायतका स्थानीय तहमा सोमबार राति परेको वर्षासँगै हिमपात भएको हो।  हिमपातका कारण चिसो बढ्न थालेको छ। बाजुराका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिकाका अग्ला स्थानमा पनि हिमपात भएको छ। 

सुदूरका पहाडी क्षेत्रमा हिमपात सुरु भएपछि किसान  निकै हर्षित छन्। हिउँदमा लगाएको गहुँ बाली सुक्नै लागेको समयमा वर्षासँगै हिमपात भएपछि तरकारी तथा गहुँबालीका लागि सिँचाइमा ठूलो राहत मिलेको भन्दै किसान हर्षित बनेका छन्। 
पानी र हिमपातसँगै चिसो अत्यधिक बढेकाले मानिस र पशुपन्छीलाई बाहिर निस्कन समस्या भएको छ। धेरै लामो समयपपछि पानी परेकाले दुईरतीन दिनसम्म लगातार पर्दै जाने कतिपय स्थानीयले अनुमान गरेका छन्।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहनु र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।