सुदूरपश्चिममा तीन हजार औद्योगिक प्रतिष्ठान, २४ प्रतिशत मात्र पूर्ण क्षमतामा सञ्चालन

सुदूरपश्चिममा तीन हजार औद्योगिक प्रतिष्ठान, २४ प्रतिशत मात्र पूर्ण क्षमतामा सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमताको उपयोग कमजोर रहेको पाइएको छ ।
औद्योगिक क्षेत्रको सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशमा रहेका औद्योगिक प्रतिष्ठानमध्ये २४ प्रतिशतले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको हो ।

केन्द्रिय तथ्यांक कार्यालयको कार्यालयको आयोजना तथा जिल्ला तथ्यांक कार्यालय कञ्चनपुरको समन्वयमा बुधबार धनगढीमा सार्वजनिक गरिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार प्रदेशमा ७६ प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग नभएको तथ्यांक सार्वजनिक गरिएको छ ।

केन्द्रिय तथ्यांक कार्यालयले खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकला गरी चार क्षेत्रका औद्योगिक प्रतिष्ठानको सर्वेक्षण गरेको हो । सर्वेक्षण अवधिमा प्रदेशमा २५ प्रतिशतभन्दा कम क्षमताको उपयोग एक दशमलब दुई प्रतिशत, २५ देखि ४९ प्रतिशत उपयोग गर्ने १२ दशमलब दुई प्रतिशत, ५० देखि ७४ प्रतिशत उपयोग गर्ने ३२ दशमलब दुई प्रतिशत तथा ७५ देखि ९९ प्रतिशत उपयोग गर्ने उद्योग ३० प्रतिशत रहेको कार्यालयका आर्थिक जनगणना शाखाका निर्देशक महेशचन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार अनियमित विद्युत, समयमै कच्चा पदार्थ नपाउनु, मागको कमी, आधुनिक उपकरण नहुनु, पुर्वाधार अभाव, प्रतिष्पर्धा, स्रोतको कमी लगायतका कारण औद्योगिक उत्पादन क्षमता पूर्ण रुपमा उपयोग हुन नसकेका हुन् ।
प्रदेशमा वर्षभरी उत्पादन कार्य सञ्चालन गर्ने उद्योग प्रतिष्ठान राष्ट्रिय अवस्थाभन्दा सुधार देखिएको छ । ‘सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये करिब ७६ प्रतिशत उद्योगहरु २७० दिन भन्दा बढी सञ्चालन भएको देखिएको छ । सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत प्रतिष्ठानहरु २७० दिनभन्दा बढी सञ्चालन भएको देखिन्छ ।’
सन्दर्भ अवधिमा यस प्रदेशमा तीन हजार तीन  सय ८७ उद्योग प्रतिष्ठान रहेका छन् । यस आधारमा देशभरमै कम उद्योग प्रतिष्ठान हुने प्रदेशअन्र्तगत छैटौं नम्बरमा पर्छ । सबैभन्दा कम उद्योग प्रतिष्ठान कर्णाली प्रदेशमा रहेको छ ।
सन्दर्भ अवधिमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा औद्योगिक उत्पादन प्रतिष्ठान बढी रहेका छन् । प्रदेशमा ठुला दुई सय २८ तथा साना दुई हजार आठ सय ७३ गरि तीन हजार एक सय एक औद्योगिक उत्पादन प्रतिष्ठान रहेका छन् । प्रदेशमा खानी तथा उत्खन्न उद्योग प्रतिष्ठान पाँच, विद्युत तथा ग्याँस एक सय ९९ र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापन प्रतिष्ठान ८२ रहेका छन् ।

प्रदेशमा उद्योग प्रतिष्ठानको लागत उत्पादन अनुपात पनि सुधार भएको छ । प्रदेशमा उद्योगहरुले एक सय रुपैयाँ कमाउनका लागि ६६ रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । प्रदेशमा उद्योग क्षेत्रको लागत २५ अर्व ४० करोड ९८ लाख ९६ हजार रुपैयाँ रहेकोमा उत्पादन ३८ अर्व ४५ करोड ४४ लाख १७ रुपैयाँ रहेको छ । यसअनुसार प्रदेशमा उद्योग प्रतिष्ठानमा मुल्य अभिवृद्धि १३ अर्व चार करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

सन्दर्भ अवधिमा प्रदेशमा उद्योग प्रतिष्ठानहरुमा २० हजार ४९ व्यक्तिहरु संलग्न रहेकोमा खानी तथा उत्खन्नमा ५२, औद्योगिक उत्पादनमा १८ हजार एक सय चार, विद्युत तथा ग्याँसमा एक हजार पाँच सय १२ र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापनमा तीन सय ८१ जना संलग्न रहेको सो तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार खानी तथा उत्खन्नमा ४४, औद्योगिक उत्पादनमा १२ हजार नौ सय ६६, विद्युत तथा ग्याँसमा एक हजार ७० र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापनमा दुई सय २५ जना गरि १४ हजार तीन सय पाँच जना रोजगार व्यक्तिहरु रहेको छ भने तीन अर्व ६६ करोड ३९ लाख ४६ हजार रुपैयाँ प्रतिष्ठानले तलबी कामदारहरुको लागि वार्षिक रुपमा तलब , ज्याला तथा सुविधामा खर्च गरेको छ । यस प्रदेशमा रहेका चार वटै औद्योगिक प्रतिष्ठानको स्थायी सम्पत्ती २३ अर्व पाँच करोड ३२ लाख २९ हजार रहेको छ ।