पुल नबन्दा ज्यानको बाजी लगाएर यात्रा

पुल नबन्दा ज्यानको बाजी लगाएर यात्रा

कञ्चनपुर तिल्केनीका रमेशबहादुर परशुराम धाममा स्नान गर्न आए । बालबच्चासहित उनी परशुराम धाममा आएका हुन् ।  

“महाकालीमा पुल छैन, डुङ्गामा आउँदा एउटा बच्चा डुङ्गाबाट महाकालीमा खस्यो, तीन मिटर तलबाट प्रहरीले बच्चालाई महाकालीबाट उद्धार गर्दा मात्र ऊ बाँच्न सक्यो”, उनले भने,  “कञ्चनपुरबाट यहाँ आउन भारतबाट सहज हुन्छ, महेन्द्रनगरबाट बनबासा १५ रुपैयाँ र बनबासाबाट टनकपुर सय रुपैयाँ गरी यहाँ पुग्न ११५ रुपैयाँ मात्र लाग्छ ।” नेपालको बाटो भएर आउँदा पहिला अत्तरिया त्यसपछि बुडर हुँदै परशुराम पुग्न धेरै खर्चिलो हुन्छ ।

महाकालीमा पुनर्निर्माण भए आफू जस्तालाई सुविधा हुने उनको भनाइ थियो । पुनर्निर्माण भए परशुराम धाम दर्शन गर्न आउने दर्शनार्थीलाई र स्थानीयवासीलाई ओहोरदोहोर गर्न सहज हुने थियो ।

सशस्त्र द्वन्द्वको समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनस्र्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि डडेल्धुराको भित्री मधेश क्षेत्रका स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । परशुराम नगरापालिका–५ परीगाउँ बाङ्घाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा स्थानीय तथा व्यापारीलाई समस्या भएको नगरपालिका –५ का मनोज शाहीले बताए ।  

महाकाली नदीपारि नजीकै भारतको टनकपुर रहेपनि छोटी भन्सार कार्यालय नहुँदा उनीहरुले सामान ल्याउन तथा औषधोपचारका लागि कैलाली तथा कञ्चनपुर पुग्नु परेको छ । उनीहरुलाई भारतको टनकपुरबाट भन्दा नेपालबाट सामान ढुवानी गर्न महँगो हुने गरेको छ ।

परशुरामबाट जिल्ला सदरमुकाम खलङ्गा, कैलाली र कञ्चनपुरभन्दा भारत नजीक पर्ने भएकाले छोटी भन्सार कार्यालय र पुल निर्माण भएको भए सहज हुने नगरपालिका–४ का रामबहादुर विष्टले बताए ।  

डडेल्धुरा सदरमुकाम, धनगढी र महेन्द्रनगर जान धेरै नै टाढा हुने स्थानीय लवदेव भट्टराईले भने, “परशुरामधाममा पुल र भन्सार भइदिएको भए हामीलाई धेरै नै सहज हुने थियो ।” 

ज्यानको बाजी लगाएर यात्रा

महाकालीमा पुल नहुँदा स्थानीयवासी डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कञ्चनपुर भएर परशुरामधाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई यो मार्ग सहज हुने भएकाले डुङ्गा चढेर आउने गर्छन् । डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर परशुराम आउपर्ने बाध्यता रहेको कञ्चपुरबाट परशुराम तीर्थ स्नान गर्न आएको रमेशबहादुर बमले बताए ।  
    
नगरपालिकाले बाङ्घाट र सिसमझाला गरी हाल दुई स्थानबाट नाका सञ्चालनमा गरिरहेको छ । बर्षेनी ठेक्कामार्फत डुङ्गा चलाई दुवै नाकामा तार उतार कार्य भइरहेको छ । तार उतार कार्य भइरहेको सिसमझाला नाकामा सीमा प्रहरी चौकी तातापानी र बाङ्घाट नाकामा प्रहरी चौकी परिगाउँमार्फत प्रहरी परिचालन गरिएको छ ।  

नगरपालिकाले पटक पटक छोटी भन्सार कार्यालय पुनस्र्थापनाका लागि पहल गर्दा पनि सुनवाइ नभएको बताएको छ । चार धाममध्ये महत्वपूर्ण मानिने परशुराम धाममा भारतको पूर्णागिरिका पर्यटकसमेत भित्र्याउने उद्देश्य रहेकाले छोटी भन्सार कार्यालय र पुल निमार्णका लागि पहल भइरहेको नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

“भारत जोड्ने महाकाली नदीमा अहिले डुङ्गाबाट हामीले तार उतार गर्ने गरेका छौँ, छोटी भन्सार कार्यालय स्थापना गर्न र पक्की पुनर्निर्माणका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ”, नगरप्रमुख साउदले भने, “यहाँ पुल निर्माण भए पूर्णगिरिमा आउने लाखौँ पर्यटकलाई परशुराम धाम ल्याउन सफल हुने थियौँ ।”