मुख्यमन्त्री रावलले  भने- ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौं

मुख्यमन्त्री रावलले  भने- ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौं

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालनी गर्ने  प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बताएका छन् ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने समेत उनले बताए। “ प्रदेश सरकारले अहिले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौं।” रावलले भने, “सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीको उत्खनन गर्न जरुरी छ।”

उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्दनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए।

“विसं २०६२/६३ को आन्दोलनका बेला म आफैं पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भने, “अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु।”

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे।