यहि साता प्रदेश सभा बैठक बस्छ, मुख्यमन्त्री रावलले विश्वासको मत लिन्छनः सभामुख भण्डारी

यहि साता प्रदेश सभा बैठक बस्छ, मुख्यमन्त्री रावलले विश्वासको मत लिन्छनः सभामुख भण्डारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक यहि साता आह्वान गर्ने तयारी भएको छ । अनिश्चित बनेको प्रदेश सभाको सातौ बैठक यहि साताभित्र सञ्चालन गर्ने गरि सभामुख भीमबहादुर भण्डारीले छलफल अगाडि बढाउने बताएका हुन् ।

‘म मंगलबारमात्र धनगढी पुगेको छु । भोली (बुधबार) सर्वदलिय बैठक बसाउँछु’ उनले भने –‘पुस २० वा २२ गते बैठक सञ्चालन हुने छ ।’ उनले प्रदेश सभा बैठकको पहिलो कार्यसूचिनै मुख्यमन्त्री राजेन्द्रसिंह रावलको विश्वासको मत लिने हुने बताए ।

‘सभामा अन्य कुनै विजनेस छैन । पहिलो कार्यसूचिनै मुख्यमन्त्रीको विश्वासको मतबारे रहने छ ।’
पुस ३ गते बसेको बैठकमा सभामुख भण्डारीले पुस ११ गतेसम्मको बैठक स्थगित भएको सभामा जानकारी गराएका थिए । पुस ११ गते सभा सञ्चालन नहुँदै प्रदेश सभा सदस्यहरुको मोबाईलमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको भन्दै सूचना पठाइएको थियो ।

मुख्यमन्त्री रावलको विश्वासको मतको समयावधि सकिने समय नजिकिदै गर्दा सभामुख भण्डारीले छलफल गरेर सभा आह्वान गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावले मंसिर २७ गते मुख्यमन्त्री पदमा नियूक्त भएका थिए । 

सत्ता गठबन्धनको आन्तरिक समस्याका कारण उनले तेस्रो साता पुग्नै लाग्दा समेत सभाबाट विश्वासको मत लिन सकेका छैनन् । उनले पुस २६ गतेभित्र विश्वासको मत लिईसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

प्रदेश सभामा सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी माग र मुद्दा सम्बोधन नभएसम्म सरकारलाई समर्थन नगर्ने अडानमा रहेको छ । सो दलका प्रदेश सभा सदस्यहरु थारु नेता रेश्मसहित राजबन्दीहरु विना सर्त रिहा हुनुपर्ने, टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाईनुपर्ने भन्दै माग अघि सारेका छन् । यद्यपी सत्तारुढ दलहरु यस मागप्रति गम्भिर नभएको उनीहरुको ठहर रहेको छ ।

उन्मुक्तिको साथ र सहयोग नपाउँदा मुख्यमन्त्री रावललाई विश्वासको मत लिन समस्या भईरहेको छ ।