धनगढीमा एसबि कृषि मार्ट सञ्चालन

धनगढीमा एसबि कृषि मार्ट सञ्चालन

धनगढी । कैलालीको धनगढीमा नेपालकै पहिलो पूर्ण कृषि मार्ट सञ्चालनमा आएको छ ।

कृषक र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित एनडि मार्गमा एसबि कृषि मार्ट सञ्चालनमा ल्याइएको हो । 

मार्टको मंगलबार एक समारोहकाबिच प्रदेश प्रमुख देवराज जोशीले रिवन काटेर समुदघाटन गरे । उनले कृषबाटै प्रदेशलाई समृद्धितर्फ अघि बढाउन सकिने भएकाले कृषकका प्रमुख समस्या समाधानतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भने –‘सुदूरपश्चिममा उर्वरा भुमि धेरै छ । अहिले युवाहरु कृषितर्फ आकर्षण हुन सकेका छैनन् । किसानले समयमै मलखाद नपाउने, विउ नपाउने लगायतका समस्या भोग्नुपर्ने बाँध्यता रहेको छ ।’ उनले कृषकले उत्पादन गर्न नसके मार्ट सञ्चालनमा ल्याएको पनि आवश्यक नरहने बताए ।

प्रतिनिधि सभा सदस्य डिल्ली राज पन्तले कृषिबाटै प्रदेशको आर्थिक क्रान्ति अघि बढ्न सक्ने बताए । उनले भने –‘सन १९७५ तिर तराई लगायतका जिल्लाहरु भएर भारतका विभिन्न ठाउँमा चामल निर्यात हुने गर्थे । अहिलेको अवस्थामा हामीले त्यहाबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसको प्रमुख कारण भनेको कृषकका समस्यालाई सरकारले गम्भिर रुपमा समाधान गर्न सकेको छैन् ।’ उनले अहिले पनि किसानहरुले सिँचाई, विउविजन तथा मलखादको समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।

प्रदेश सभा सदस्य धर्मराज पाठकले मार्टले कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रीहरुको बजारीकरण गर्न सहज हुने बताए । उनले भने –‘किसानहरुले उत्पादन गर्ने तर, लागत अनुसारको मूल्य नपाउने, बजारीकरणको समस्या भोग्नुपर्ने लगायतका समस्या छन् । यसको समाधान मार्टले गर्छ भन्ने विश्वास लिएको छु ।’
कृषि मार्टका सञ्चालक विष्णु बुर्लाकोटीले कृषि उपज बस्तुहरुको बजारसंग प्रतिष्पर्धा गर्न र उपभोक्ताहरुलाई आवश्यकता परेका वेला चाहेको तथा रोजेको गुणस्तरिय कृषिजन्य सामाग्रीहरु एकै स्थानमा उपलब्ध गराउन मार्ट सञ्चालन गरिएको बताए ।

मार्टमा विउविजन, मलखाद, बीज्ञ सेवा, कृषि तथा भेटिरिनरीका औजार र मेसिनहरु, ताजा तरकारी तथा फलफुलहरु, कृषि खाद्य सामाग्री, फ्रोजन मासु तथा अन्य, हष्तकला सामाग्री, परम्परागत खाजा, खाना (लोकल, अग्र्यानिक र हाइजेनिक) प्रकारका उपलब्ध रहने उनले बताए ।

यस्तै मार्टमा बैठक कक्ष, कृषि तथा वन लघुउद्यम तथा घरेलु उद्योगबाट उत्पादित सामाग्रीहरु सुपथ तथा सुलभ सेवा प्रवाह गरिने उनले बताए । मार्टको माथिल्लो तलामा स्थानिय कृषिजन्य परिकारहरुलाई समेटेर म्यूजियम पनि राखिएको छ ।