तीन सातासम्म पनि मन्त्रालय विहीन मन्त्री

तीन सातासम्म पनि मन्त्रालय विहीन मन्त्री

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई मंसिर २८ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मन्त्री पदमा नियूक्त गरे । मंसिर २७ गते मुख्यमन्त्रीमा नियूक्त भएका रावलले २८ गते पद तथा गोपनियताको सपथ लिदै भट्टलाई विना विभागिय मन्त्रीमा नियूक्त गरे । मन्त्रीमा नियूक्त भएको तीन साता पुग्नै लाग्दा समेत अहिलेसम्म मन्त्रालयविहिन छन् ।

मन्त्रालयविहिन भएपछि मन्त्री भट्ट अहिले काठमाण्डौमा छन् । धनगढीमा हुँदा नेता भट्ट सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाहको घरमा आश्रय लिएर बस्छन् । राम्रै मन्त्रालयको दौडमा नेता भट्ट काठमाण्डौमा विभिन्न नेताहरुसंग भेटघाट गरिरहेका छन् ।

सोही दिन विना विभागिय मन्त्रीमा नियूक्त भएकी अर्की नेता हुन नेकपा एमालेकी प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापा । उनको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आफ्नै घर भएकाले उनी घरबाटै पार्टीको कार्यक्रम तथा अन्य भेटघाटमा निस्कन्छन् । उनले भनिन –‘मन्त्रालयको जिम्मेवारी छैन । कुन र कसको कार्यकक्षमा जाने र के गर्ने होला ? त्यसैले घरबाटै पार्टीको कार्यक्रम तथा अन्य भेटघाटमा निस्कन्छु ।’ उनले मन्त्रालयको जिम्मेवारी छिट्टै मिल्ने विश्वास व्यक्त गरिन् ।

माओवादीका नेता भट्टले मुख्यमन्त्री रावलले विश्वासको मत लिने र सोही दिन मन्त्रीमण्डल विस्तार गरिने बताए । उनले भने –‘मुख्यमन्त्रीको विश्वासको मत र मन्त्रीमण्डल विस्तार संग–संगै हुन्छ ।’ मन्त्रीमा नियूक्त भएपनि मन्त्रालयको जिम्मेवारी नपाउँदा दुई मन्त्रीहरुले मन्त्रालयबाट पाउनुपर्ने क्वाटर (आवास), सवारी साधन, इन्धन लगायतको सेवासुविधा उपभोग गर्न पाएका छैनन् ।

विश्वासको मत नपाउने आशंकामा रहेका मुख्यमन्त्री रावल पनि विश्वासको मत पछिमात्र मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा छन् । नागरिक उन्मुक्ति पार्टीले माग र मुद्दा पुरा नभएसम्म सरकारलाई समर्थन नगर्ने र सरकारमा नजाने प्रतिक्रिया दिदै आएको छ ।

नेकपा एमालेका एक प्रदेश सभा सदस्यले भने –‘मन्त्रीमण्डल विस्तारबारे केन्द्रमा छलफल र सहमति भईरहेको छ ।’ मुख्यमन्त्री रावल केन्द्रको सत्ता गठबन्धन दलको सहमति कुरिरहेको उनको भनाई छ । सत्ता गठबन्धनको छलफलबाटै दलहरुबिच मन्त्रालय बाँडफाँड र सहमति हुने छ । सोही आधारमा प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रावल रहेका छन् । 

रावलले प्रदेशमा सत्ता गठबन्धन दलभित्र अहिलेसम्म कुनै छलफल अघि बढाउन सकेका छैनन् । विश्वासको मत कायम गराउन काठमाडौं पुगेका रावलले प्रदेशमा सत्ता गठबन्धन दलभित्र रहेका संसदीय दलका नेताहरुसंग विश्वासको मत तथा मन्त्रीमण्डल विस्तारबारे वार्ता तथा छलफल अघि बढाएका छैनन् । उनी केन्द्रको सहमतिका आधारमा प्रदेशमा विश्वासको मत पाउनेमा विश्वस्त छन् ।