नेपाली कांग्रेस संसदीय दलको बैठक २६ गते बस्ने

नेपाली कांग्रेस संसदीय दलको बैठक २६ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते बस्ने भएको छ। बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको जानकारी दिए।

उनले संसद् भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए।

उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको पनि जानकारी दिए। बिहीबारको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र अजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताए। उनले राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए।