प्रदेश सभा बैठकका लागि आन्तरिक गृहकार्य गर्दै सभामुख भण्डारी

प्रदेश सभा बैठकका लागि आन्तरिक गृहकार्य गर्दै सभामुख भण्डारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालनबारे सभामुख भिमबहादुर भण्डारीले गृहकार्य अघि बढाएका छन् ।
अनिश्चित बनेको प्रदेश सभा बैठक सञ्चालनका लागि बिहिबारदेखि सभामुख भण्डारीले गृहकार्य अघि बढाएको धनगढीखबरसंगको कुराकानीमा बताए ।

उनले भने –‘सबै दलहरुसंग छलफल तथा सहकार्य भईरहेको छ । भोली (शुक्रबार) बिहान तपाईलाई सभाको बैठक मितिबारे जानकारी दिन्छु ।’ उनले दलका नेता तथा प्रदेश सभा सदस्यहरुसंग बैठक, छलफल जारी रहेको बताए ।

सभामुख भण्डारी शनिबारसम्म बैठक आह्वान गर्ने पक्षमा छन् । सभाको पहिलो कार्यसुचि मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने रहने छ । 

यस प्रदेशमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी अनिर्णित हुँदा मुख्यमन्त्री रावललाई विश्वासको मतका लागि कठिन रहेको छ । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरि २९ प्रदेश सभा सदस्य रहेका छन भने प्रतिपक्षमा नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका चार, स्वतन्त्र पार्टीका एक गरि २४ प्रदेश सभा सदस्य रहेका छन् ।