फेरी मुख्यमन्त्री रावल काठमाण्डौ

फेरी मुख्यमन्त्री रावल काठमाण्डौ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल बिहिबार काठमाण्डौ गएका छन् । राजनीतिक भेटघाट तथा कञ्चनपुरमा आयोजना हुन लागेको महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण दिन उनी काठमाण्डौ गएका हुन ।

उनका स्वकिय सचिव राज चन्दले भने –‘कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गतेदेखि शुरु हुन लागेको महोत्सवको समुदघाटनका लागि प्रधानमन्त्रीलाई आमन्त्रण गर्न काठमाण्डौ गएका हुन ।’ उनका अनुसार योसंगै सत्ता साझेदारीमा रहेका नेताहरुसंग पनि भेटघाट गर्ने उनको कार्यक्रम रहेको छ । 

यसअघि मुख्यमन्त्री रावल माघ पहिलो साता काठमाण्डौं गएका थिए । सो क्रममा उनले नागरिक उन्मुक्ति पार्टीका नेता रेश्म चौधरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालसंग भेटघाट गरेका थिए । उनले विश्वासको मतका लागि सत्ता साझेदारी दलहरुले सहयोग गर्नुपर्ने छलफलका क्रममा बताएका थिए ।

अहिले पनि उनले राजनीतिक भेटघाटलाई पनि अघि बढाउने जनाइएको छ । यस प्रदेशमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी अनिर्णित हुँदा मुख्यमन्त्री रावललाई विश्वासको मतका लागि कठिन रहेको छ । 

प्रदेश सभामा नागरिक उन्मुक्तिका सात, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरि २९ प्रदेश सभा सदस्य रहेका छन भने प्रतिपक्षमा नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका चार, स्वतन्त्र पार्टीका एक गरि २४ प्रदेश सभा सदस्य रहेका छन् ।