धनगढीका नीजि अस्पतालमा धमाधम बढ्दै लगानी

धनगढीका नीजि अस्पतालमा धमाधम बढ्दै लगानी

अत्तरिया । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा निर्माणाधिन अवस्थामा रहेको छ –‘सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर’ । नीजि अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि निर्माणाधिन अस्पताल सञ्चालनको तयारीमा रहेको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिए ।

२५ शैय्याबाट सुरु हुन लागेको सो अस्पताललाई स्तरोन्नति गर्दै सय शैय्या पुर्याउने सञ्चालन रिमाले योजना व्यक्त गरे । १६ करोडको लगानीमा बन्दै गएको उक्त भवनको कार्य करिब ९५ प्रतिशत सकिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित निर्माणाधिन अवस्थामा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल (अस्पताल) ले केही सेवा शुभारम्भ गर्दै बुधबारदेखि सञ्चालनमा आएको छ । अस्पतालले बुधबारदेखि आकस्मिक, फार्मेसी, प्रयोगशाला सहितका केही बिशेषज्ञ सेवाहरु सुरु गरेको छ । बाँकी बिशेषज्ञ सेवाहरु पनि छिट्टै सञ्चालनमा ल्याईने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए । 
२५ शैय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै  हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ सेती प्रादेशिक अस्पताल नजिक संजिवनी अस्पतालले सेवा दिईरहेको छ । सञ्चालन अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन पेश गरेको सो अस्पतालले आशय पत्र प्राप्त नगर्दै सेवा दिन शुरु गरेको हो । धनगढी उपमहानगरपालिकाले सरकारी अस्पतालको तीन सय मिटरभित्र अस्पताल पर्ने भन्दै सञ्चालनका लागि आशय पत्र उपलब्ध गराएको छैन् । अस्पतालका अध्यक्ष दुश्यान्त बस्नेतले छिट्टै नयाँ ठाउँमा अस्पताल सारेर सेवा प्रदान गर्ने तयारी रहेको बताए । उनले भने –‘सरकारी स्वास्थ्य संस्थाको तीन सय मिटर भित्र रहेका नीजि स्वास्थ्य संस्थालाई स्वास्थ्य निर्देशनालयले हटाउने तयारी गरेको छ । त्यसैले हामीले नयाँ ठाउँमा जग्गा र भवन हेरेका छौं । छिट्टै अस्पताललाई त्यहाँ स्थानान्तरण गरि सेवा प्रदान गरिने छ ।’ सो अस्पतालले नेपाल राष्ट्र बैंक नजिक रहेका भवन तथा जग्गाधनीसंग सम्झौता गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा केही वर्ष यता सुविधासम्पन्न अस्पतालहरु सञ्चालनमा रहेको केही सञ्चालन हुने तयारीमा रहेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीका रुपमा स्थापित धनगढीमा नीजि अस्पतालमा लगानी बढ्दै गएको छ । 

प्रदेशमा दशक अघि सामान्य विरामी हुँदा पनि अन्यत्र जानुपर्ने बाँध्यता रहेको थियो । ‘तत्कालिन समयमा सेती अञ्चल अस्पताल (हाल सेती प्रादेशिक अस्पताल) मा पनि आवश्यक जनशक्ति र उपकरणको अभाव हुँदा सामान्य विरामीलाई पनि रिफर गर्नुपर्ने अवस्था रहेको थियो’ धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वड भन्छन् –‘अहिले सेतीमा पनि सेवा विस्तारसंगै सुधार हुँदै गएको छ । त्यसैमा धनगढीमा नीजि अस्पताल खोल्ने क्रम तिव्र भएको छ ।’

उनी भन्छन –‘यहाँ आएका विरामी उपचारका लागि छिमेकी मुलक भारत तथा नेपालगञ्ज, काठमाण्डौं धाउनु पर्ने अवस्था थियो । अहिले प्राय गरी बिरामीहरु धनगढीकै अस्पतालमा पुग्ने गरिरहेका छन् ।’
प्रदेशका पहाडी जिल्लालाई केन्द्रित गरि सञ्चालनमा रहेको डडेल्धुरा अस्पतालमा सेवा लिन आउने विरामीहरु पनि उपचारका लागि धनगढी पुग्ने गरिरहेका छन् । डडेल्धुरा अस्पताल संघिय सरकार मातहात रहेपनि जनशक्ति, उपकरण लगायतका समस्या भोग्दै आएको छ । जसका कारण त्यहाँ चेकजाँच गराउन आउने विरामीहरुको भरोसाको केन्द्र पनि धनगढीका अस्पतालहरु बनिरहेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिपी अस्पतालले पत्थरीको समस्यालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको थियो । सिपीले पत्थरीसंगै विशेषज्ञ सेवाहरु उपलब्ध गराईरहेको छ । 
सिपी अस्पतालसंगै धनगढीमा रहेका नवजिवन, माया मेट्रो, केजी, निसर्ग, सारथी, नोभा अस्पताल लगायतका दर्जन बढी अस्पताल सञ्चालनमा रहेका छन् । धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधार, प्रविधि र विशेषज्ञ सेवा विस्तारको कामले तिव्रता पाउँदै गएको स्थानीयहरु बताउँछन्  ।

प्रदेशका नौ वटै जिल्लाहरुको रेफरल सेन्टरको रुपमा रहेको सेती अञ्चल अस्पताल सहित नीजि क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसंगै पहिलेका भन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको सारथी अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले बताए ।

स्वस्तिक अस्पतालले न्युरो, कार्डियो र क्यान्सर बिरामीको उपचार धनगढीमै गर्ने गरि सेवा शुभारम्भ गरिरहेको छ । 

धनगढीमा रहेका अस्पतालले नवजात शिशु सघन उपचार कक्ष आईसियु, एनआईसीयू सेवा प्रदान गरिरहेका छन् ।

हाम्रो अस्पतालमा एमआरआई मेशिन जोड्न तयारमा रहेको निसर्ग अस्पतालका प्रवन्धक निर्देशक कुवेर शाहीले बताए । उनले भने –‘हामी केही दिनमै मुटु समबन्धी उपचार गर्ने मेसिन पनि जडान गर्ने तयारी जुटिरहेका छौं ।’ 

अहिले सेती अञ्चल अस्पतालमै हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, मानसिक रोग, नाक, कान घाँटी, बालरोग, दाँत, फिजिसियन र छाला रोग विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने न्युरो, कार्डियो र क्यान्सर लगायतका रोगको उपचारको उपलब्धता छैन् । 

सुदूरपश्चिम प्रदेशमा अझै प्रयाप्त सेवा सुविधा दिन नसकेको डाक्टर हेमराज पाण्डेले बताए । उनले भने –‘अझै प्रदेशमा न्यूरोलोजिस्ट, ईन्डोलोजिस्ट, मेटोलोजिस्ट र प्लासटिक सर्जरी यहि व्यवस्था भएमा उपचारका लागि भारत धाउनु पर्ने बाध्यता हट्ने थियो ।’