एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्म निर्माण गरेका डा: भोला रिजालका छोरा डा: कपिल रिजालले निर्देशनमा डेब्यू गरेको फिल्म हो, ‘ह्यारी कि प्यारी’ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रीय भूमिकामा छन् । परिवार नै चिकित्सा पेशामा आबद्ध भएकाले डा। रिजालले आफ्नो डेब्यू फिल्ममा डाक्टर र अस्पताललाई कुनै न कुनै रुपमा जोडेका छन् ।
जेनी साम्राज्ञी आमा बुबाले खडा गरेको अस्पतालको प्रमुख छिन् । उनी डाक्टर पनि हुन् । आमा बुबाको निधनपछि उनी हजुरआमा सरला रिजाल को सहारामा हुर्किइन् । उमेर बढेसँगै हजुरआमाले विवाहका लागि दबाव दिन थाल्छिन् । तर, जेनी हजुरआमालाई छाडेर विवाह गर्न तयार छैनन् ।
यस्तै दबावमा छन्, हरि उर्फ ह्यारी जितु । उसलाई गाउँमा स्वास्थ्य चौकी बनाउनु छ । तर, खर्च जुटेको छैन । चिया पसलदेखि चौतारासम्म दानपेटिका राखेको छ, तर कसैले सहयोग गरेका छैनन् । स्वास्थ्य चौकी बनाउने सपना पूरा गर्न ऊ पुर्ख्यौली जग्गा बेच्न समेत तयार हुन्छ । तर, हजुरआमा लक्ष्मी गिरी ले विवाह गरेपछि मात्र हरिले जग्गा बेच्न पाउने गरी कागज बनाउँछिन् ।
उता हजुरआमाबाट विवाहको दबाव खेपिरहेकी जेनी र गाउँमा स्वास्थ्य चौकी बनाउन जुनसुकै मुल्य चुकाउन तयार हरि कसरी एकअर्कासँग ठाकिन्छन् र के(कस्ता उतारचढाव आउँछन् भन्नेमा फिल्मले २ घन्टा १५ मिनेट फन्को मारेको छ । तर, मध्यान्तरअघि फिल्मको गति अत्यन्त धिमी छ । चरित्र स्थापित गर्न लम्बेतान दृश्य राखिएका छन्, जसमा दर्शक हँसाउने ध्येय पनि छ तर सफल छैन ।