रेशमलाई छुटाउँनका लागि हामी अदालत त हौइनौं नीः रावल

रेशमलाई छुटाउँनका लागि हामी अदालत त हौइनौं नीः रावल

धनगढी । विश्वासको मत नपाई पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले झगडियालाई छुटाउन नसक्दा आफ्नो सरकार ढलेको बताएका छन् । 

‘टीकापुर घटनामा संलग्न रहेका रेशम चौधरीलाई कारागारबाट छुटाउननसक्दा सरकार ढलेको हो,’ उनले भने, ‘झगडियालाई हामीले कसरी छुटाउन सक्छौं र? उहाँलाई त अदालतले फैसला गर्ने हो । हामीले छुटाउनलाई हामी अदालत त हाईनौ नि ?

थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका दुई तथा एक जना बालकसहित ८ जनाको मृत्यु भएको थियो । जसलाई टीकापुर घटना भनिन्छ ।  

घटनाको मुख्य योजनाकारको अभियोग लागेका रेशमलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारागारको सजाय सुनाएको थियो । उनकै संरक्षणमा खुलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत कैदीलाई छुटाउँनुपर्ने मुख्य माग राख्दै आएको छ । रेशमलगायतलाई नछोडेपछि उन्मुक्तिले रावललाई समेत विश्वासको मत दिएन ।

सुरुमा रावललाई समर्थन गर्ने भन्दै उन्मुक्तिका ७ सांसदले हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षरसहित बहुमत सदस्यको दाबीसहित रावल सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए । तर एकमहिनामा विश्वासको मत लिनुपर्ने सवैंधानिक व्यवस्थाअनुरुप शुक्रबार विश्वासको मत मागेका रावललाई नागरिक उन्मुक्ति पार्र्टीले साथ दिएन । परिणाम स्वरुप उनी मुख्यमन्त्रीबाट बाहिरिन बाध्य भएका छन् । 

‘उसबेला साथ दिन्छु भनेर हस्ताक्षर गर्ने र अहिले साथ किन नदिएको यो बिषयमा मलाई थाहा भएन । यो प्रश्न उनीहरुलाई सोध्नुहोस्,’ रावलले भने, ‘उसबेला हामीले कोही कसैसँग पनि बाचा कसम गरेका थिएनौं र तर हामी काठमाण्डौं गएर रेशम चौधरी र उहाँका सांसदहरुसँग समान्य भेटघाट गरेका हौं । हामीे तपाईलाई छुटाउँछौं भनेर आश्वासन पनि गरेका थिएनौं ।’