मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा आशावादी छुः नेता खनाल

मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा आशावादी छुः नेता खनाल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाउनेमा आशाबादी रहेको बताएका छन् ।

सरकार गठन गर्न संख्या महत्व भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने उनले आशा व्यक्त गरेका हुन ।

‘नेकपा माओवादी केन्द्रले सकारात्मक  ढंगले अगाडि बढेमा विश्वासको मत प्राप्त भईहाल्छ । माओवादी केन्द्र वा नागरिक उन्मुक्ति जसले मत दिएपनि हुन्छ । २७ नाघेपछि बहुमत पाप्त भईहाल्छ’ समाजवादी प्रेस संगठन नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने –‘विश्वासको मत प्राप्त गर्न महत्वपूर्ण कुरा संख्या हो । त्यसमध्येमा दुई पार्टी मुख्य निर्णायक भएकाले दुबै पार्टी सकारात्मक भएमा विश्वासको मत प्राप्त भईहाल्छ ।’

उनले संघिय संरचनामा केन्द्रकै जस्तो प्रदेशमा हुनुपर्ने अवस्था नरहेको बताए । ‘संघिय संरचनामा प्रदेशमा पनि केन्द्रकै राजनीतिक समिकरण हुनुपर्छ भन्ने छैन’ उनले भने–‘संघियता लागु भएका विभिन्न राष्ट्रमा केन्द्र सरकारभन्दा पनि प्रान्तमा फरक दलको सरकार बनेका इतिहास छन् । प्रदेश विशेषमा कुन पार्टीले बहुमत ल्याएको छ त्यस आधारमा सरकारहरु बन्ने गर्छन् । त्यसकारण केन्द्रमा जे छ, त्यही मापदण्ड लागु गर्नुपर्छ भन्ने केही जरुरी हुँदैन् ।’ उनले भिन्नता देखापरेमा अन्यथा लग्न नहुने बताए ।

उनले टीकापुर घटनाको आरोपमा पक्राउ परेका रेश्म चौधरीको मुद्दामा तथ्यसंगत ढंगले निष्कर्षमा पुग्नु राम्रो हुने बताए । उनले भने –‘त्यतिबेलाका गल्तीहरु के हुनु ?, एकातिर ठुल–ठुला वारदातहरु भएका छन । यी कुरा अनदेखा गर्नुभएन् । तर, को हो त जिम्मेवार ? भन्नेबारेमा बढी गहिरिएर विश्लेषण गर्नुपर्छ र तथ्यसंगत ढंगले निष्कर्षमा पुग्नुपर्छ ।’ उनले रेश्म चौधरी लगायतको समुहमा त्यो घटनामा संलग्न नरहेका हुन र आशंकाका आधारमा निर्णय भएका छनु भने पुर्नविचार गरिनुपर्ने उनको भनाई थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताए । उनले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।’ 

उनले राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने बताए । ‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले थपे, ‘राष्ट्रिय सहमतिकै आधारमा योग्य व्यक्तिलाई राष्ट्रपति चयन गर्नुपर्छ ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे । उनले राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउदा लोकतन्त्र नै समस्यामा पर्ने उनको भनाइ छ ।