मनोमानी रिलिजले धर्मसंकटमा कलाकार

मनोमानी रिलिजले धर्मसंकटमा कलाकार

एउटै कलाकारको फिल्म लगालग प्रदर्शनमा आउनु सुखद होइन । त्यसमाथि मुख्य भूमिकामा रहेको कलाकारको फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लाग्दा जोखिम सर्वाधिक हुने गर्छ । यो अवस्थामा दर्शक त ‘कन्फ्यूज’ हुन्छन् नै, व्यवसायिक सफलताको सम्भावना पनि कम रहन्छ । यसैले एउटै कलाकारको अभिनय रहेको फिल्मको रिलिज अन्तर बढाउनु नै सबैभन्दा बुद्धिमानी हो ।

तर, नेपालमा कलाकारसँगको सल्लाहमा फिल्मको प्रदर्शन मिति तोक्ने चलन छैन । यसमा निर्माता र वितरकको मनोमानी चल्छ । आफ्नै फिल्मको कलाकारको अर्को फिल्मसँग भिडाउन समेत डर मान्दैनन् । जब फिल्म असफल हुन्छ तब त्यसको जिम्मेवार भने कलाकारलाई ठहराइन्छ । फुर्सदमा पछुताउनुभन्दा पहिल्यै सल्लाह गरेर प्रदर्शन मिति घोषणा गर्ने बानीको विकास गर्न जरुरी छ ।

निर्माता र वितरकले मनलाग्दी रुपमा प्रदर्शन तोकिदिँदा कलाकार धर्मसंकटमा पर्छन् । झन् रिलिज जुध्यो अथवा एक दुई हप्ताको अन्तर भयो भने कुन फिल्मको प्रचारमा हिँड्ने र कुन फिल्म हेर्न आग्रह गर्ने भन्ने दोधारको स्थिति उत्पन्न हुन्छ । प्रचारमा नहिँड्दा व्यवसायिक धर्म ननिभाएको आरोप लाग्छ अनि एउटा फिल्मको प्रचारमा हिँड्दा अर्को फिल्मको निर्माता मुख फुलाएर बस्छन् ।

यसपालि अभिनेत्री साम्राज्ञी आरएल शाहले यो अवस्था भोग्नु पर्‍यो । करिब तीन वर्ष उनका कुनै फिल्म प्रदर्शनमा आएनन्, जब भए तब महिना दिनको अन्तर पनि भएन । उनको ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को रिलिज अन्तर एक महिनाको पनि थिएन । जसले गर्दा उनलाई कुन फिल्मको प्रचारमा हिँड्ने भन्ने धर्मसंकट परेको थियो । यद्यपि, उनले दुवै फिल्मलाई पर्याप्त समय दिइन् ।

तर, ‘तिम्रो मेरो साथ’ रिलिजकै दिनबाट उनी ‘ह्यारी कि प्यारी’को प्रचारमा हिँड्दा विभिन्न आरोप लाग्यो । सन्तानलाई जन्म दिएर अलपत्र छाडेर हिँडेको भन्दै निर्माता सन्तोष सेनले फेसबुकमार्फत् साम्राज्ञीप्रति कटाक्ष नै गरे । जसमा ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले समेत समर्थन जनाए । रिलिज जुधाउने निर्माता अनि आरोप खेप्ने कलाकार, गजब नियम छ ।

साम्राज्ञीकै अवस्था भोग्ने पालो अब अभिनेत्री सुरक्षा पन्तको आएको छ । साम्राज्ञीको दुई फिल्मको रिलिज अन्तर त कमसेकम १९ दिनको थियो तर सुरक्षाका दुई ‘ब’ नामका फिल्म मात्र एक हप्ताको अन्तरमा रिलिज हुँदैछन् । चैत २४ मा ‘बहाव’ र बैशाख १ मा ‘बुलाकी’ प्रदर्शनमा आउँदैछ । यो निश्चित छ कि उनले कुनै एक फिल्मको प्रचार गर्दा अर्को निर्माताले मनमनै गाली गरेर बस्नेछन् ।

झन् अभिनेता दयाहाङ राईको त एकै मितिमा दुई फिल्म रिलिज हुँदैछ । आगामी बैशाख १ गते उनी अभिनीत ‘जारी’ र ‘बिहे पास’ प्रदर्शनको पखाईमा छ । कुन फिल्मको प्रचार गर्ने र दर्शकलाई कुन फिल्म हेर्न आग्रह गर्ने भन्ने सबैभन्दा धर्मसंकट उनलाई पर्नेछ । निर्माता र वितरकले आफूखुसी प्रदर्शन मिति तोक्दा कलाकारको करिअर संकटमा पर्ने अवस्था आएको छ । तर, बुझ्ने कसले  ?