सांसद अरुण चौधरीको आज बयान लिइने

सांसद अरुण चौधरीको आज बयान लिइने

धनगढी /  प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो । उनलाई बयानका लागि जिल्ला अदालत कैलाली लगिने छ ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।
२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले केहिदिन अघि बाँकेबाट पक्राउ गरेको थियो ।