सुःख दुःखको कहानी हो ‘फूलबारी’ : प्रियंका कार्की

सुःख दुःखको कहानी हो ‘फूलबारी’  : प्रियंका कार्की

यही फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई खराब स्वभावकी बुहारीको रुपमा प्रस्तुत गरिएको छ । उनले सासु-सुसराप्रति गरेको व्यवहार अत्यन्त अस्वभनीय र निन्दनीय देखिन्छ । तर, आफूले निर्वाह गरेको भूमिकामा कतिले अपनत्व महसूस पनि गर्न सक्ने उनको विश्वास छ ।

मोफसल भ्रमणको क्रममा प्रियंकाले भनेकी छन्, ‘फिल्म कुन विषयमाथि बनेको हो भन्ने कुरा ट्रेलरबाट धेरै हदसम्म प्रष्ट हुन्छ । यो पारिवारिक कथामा बनेको फिल्म हो । ट्रेलरमा झलक्क हेर्दा मलाई सबैभन्दा दुष्ट परिवारको सदस्य जस्तो लाग्न सक्छ । तर, मेरो चरित्र त्यत्ति साह्रो भयानक पनि छैन । कतिजनाले मैले निर्वाह गरेको भूमिकामा आफूलाई महसूस पनि गर्न सक्नुहुन्छ होला कि !’

फिल्ममा परिवारका विभिन्न सदस्यको दृष्टिकोणलाई देखाइएको बताउँदै उनी भन्छिन्, ‘जयनारायण सरको सन्तानप्रतिको अपेक्षा, भोगाई, के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने कुरालाई देखाइएको छ । फिल्ममा म बुहारीको भूमिकामा छु । उसको पनि आफनै भोगाई र दृष्टिकोण छ ।’ सानो कुराले पनि परिवारमा सुःख-दुःख आउँछ भन्ने कुरालाई फिल्ममा प्रस्तुत गरिएको उनले स्पष्ट पारेकी छन् ।

प्रियंका ‘फूलबारी’लाई सुःख-दुःखको कहानी भन्न रुचाउँछिन् । इमोसनले भरिएको फिल्म रहेको जिकिर गर्दै उनले हरेक वर्गका दर्शकले कहिँ न कहिँ आफूलाई महसूस गर्ने विश्वास व्यक्त गरेकी छन् । फिल्मको स्क्रिप्ट पढ्दा परिवारभित्र हुने स-साना कुरालाई समेत आफूले बुझ्ने मौका पाएको उनको अनुभव छ । फिल्मबाट दर्शकले केही सन्देश पनि लिएर जानेमा प्रियंका विश्वस्त छिन् ।