मदिरा पिएर कुटपिट गरेको अभियोगमा पक्राउ परेका कलाकार ‘म्याकुरी’ मिलापत्रपछि छुटे

मदिरा पिएर कुटपिट गरेको अभियोगमा पक्राउ परेका कलाकार ‘म्याकुरी’ मिलापत्रपछि छुटे

मोरङ / मोरङको बेलबारीमा मदिरा पिएर कुटपिट गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा ‘म्याकुरी’ रिहा भएका छन्। 

मंगलबार राति मदिरा पिएपछि स्थानीय युवकलाई कुटपिट गरेको आरोपमा उनीसहित एक अर्का व्यक्ति पनि पक्राउ परेका थिए। बुधबार साँझ मिलापत्र पछि म्याकुरीसहित उनका साथी पनि रिहा भएका छन्। 

बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मदिरा सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेका थिए। उनीहरुलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। 

कलाकार पवन खतिवडा ‘म्याकुरी’ र भण्डारीले बेलबारी–५ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनका अनुसार कुटपिटबाट कार्की सामान्य घाइते भएका छन्। पक्राउ गरेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको थियो।

पीडितले पक्राउ परेका विरुद्ध उजुरी नदिई दिनभरी इप्रकामा बसेर छलफल गरी दुवै पक्ष सहमति गरेका थिए। दुवै पक्षबीच सहमति भएपछि बुधबार साँझमा प्रहरी नियन्त्रणमा रहेका खतिवडा र भण्डारीलाई छाडेको प्रवक्ता डिएसपी कार्कीले बताएका छन्।