दुई लाख मूल्य भएको एउटा आईफोन १४ प्रो म्याक्स बनाउन कति खर्च लाग्ला ?

दुई लाख मूल्य भएको एउटा आईफोन १४ प्रो म्याक्स बनाउन कति खर्च लाग्ला ?

काठमाडौं । आईफोन भन्ने बित्तिकै स्मार्टफोन बजारको मुख्य आकर्षणको रुपमा हेरिन्छ । धेरै मानिसहरू आईफोनको विषयमा जान्न इच्छुक हुन्छन् ।

अर्कातिर आईफोनलाई बजारमा सबैभन्दा महँगो फोनको रुपमा पनि लिइन्छ । पछिल्लो समय सार्वजनिक भएको आईफोनको सबैभन्दा महँगो र नयाँ फोन हो ‘आईफोन १४ प्रो म्याक्स’ ।  

हालसम्म बजारमा आएका आईफोनमध्ये सबैभन्दा बढी फिचर, शक्तिशाली चिपसेट, स्तरीय क्यामेरा, ठूलो डिस्प्ले, राम्रो र टिकाउ ब्याट्री र सबैभन्दा बढी खोजिएको डाइनामिक आइल्यान्डसँगै स्याटलाइट कनेक्टीभिटी भएको यो फोन नरुचाउने कमै होलान् । 

यस फोनको १२८ जीबी भेरियन्टको सुरुवाती मूल्य एक लाख ८७ हजारको हाराहारीमा छ भने २५६ भेरियन्टको मूल्य करिब दुई लाख ८००० रुपैयाँ छ ।


एक टिबी स्टोरेज भएको आईफोन फोर्टिन प्रो म्याक्सको मूल्य नेपाली बजारमा करिब तीन लाखको हाराहारीमा छ । बजारमा यति मँहगो मूल्य भएको यो फोन बनाउँदा कम्पनीको भने कति खर्च हुन्छ होला रु  

काउन्टरपोइन्ट रिसर्चले अध्ययन गरेर आईफोन १४ प्रो म्याक्स निर्माण गर्न कम्पनीले कति खर्च गर्छ भन्ने विषयमा एक प्रतिवेदन तयार गरेको छ ।   

उक्त प्रतिवेदनका अनुसार एप्पलले एउटा आईफोन १४ प्रो म्याक्स बनाउन ४६४ डलर (करिब ६१ हजार रुपैयाँ) खर्च गर्छ । यो मूल्यलाई बिल अफ मटेरियल (बीओएम) पनि भनिन्छ । 

अर्थात् उक्त डिभाइसमा प्रयोग भएका सामग्रीको खर्चलाई बीओएम भनिन्छ । भौतिक रूपमा यस डिभाइसमा जे कुरा प्रयोग भएका छन् ती सबैको शुल्क यसमा जोडिन्छ । यसलाई हेर्ने हो भने फोन निर्माण खर्च जति छ उक्त फोनको वास्तविक मूल्य ५० प्रतिशत भन्दा पनि बढी छ । 

फोन निर्माण शुल्कमध्ये करिब २२ प्रतिशत शुल्क ए१६ बायोनिक चिपसेट र त्यससँग सम्बन्धित कम्पोनेन्टको मात्र रहेको काउन्टरपोइन्टले उल्लेख गरेको छ ।

बीओएम शुल्कले फोनको कुल मूल्य निर्धारण गर्छ भन्ने चाहिँ हुँदैन । बीओएम शुल्कमा शिपमेन्ट चार्ज जोडिएको हुँदैन । शिपमेन्ट भन्नाले फोन निर्माण भइसकेपछि त्यो प्रयोगकर्ताको हातसम्म पुग्ने शुल्कलाई जनाउँछ । त्यसैगरी फोनको डिजाइन लगायत अन्य शुल्क बीओएमपछि मात्र जोडिन्छ ।

आईफोन १४ प्रो म्याक्सको बीओएम शुल्क आईफोन १३ प्रो म्याक्सको तुलनामा ३.७ प्रतिशत बढी छ । यसको अर्थ एप्पललाई आईफोन १४ प्रो म्याक्स तयार पार्न ३.७ प्रतिशत रकम बढी लागेको छ । तर, यी दुबै मोडेलको खुद्रा मूल्य भने करिब बराबर नै छ ।

कम्पनीको यही सिलसिलालाई हेर्ने हो भने आईफोन १५ लाइनअप केही महँगो हुने अपेक्षा गरिएको छ । टेकपाना